फिल्मी फण्डा। आगामी भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहबीच ‘म त सुतेर उठेको पैसामा’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा माग्ने बुढाका रूपमा चिनिएका केदार घिमिरे, तक्मे बुढा विल्सन विक्रम राई र बाल कलाकार रोनिश खड्का फिचर्ड छन्। स्वर, संगीत, शब्द र एरेञ्ज सबै बाबुल गिरीकै रहेको छ। बाल स्वरका रूपमा रोनिश खड्काले पनि गायनमा साथ दिएका छन्।
गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक देखिएको छ। गीतका शब्द, दृश्य र लयले सामाजिक सञ्जालमा छिट्टै भाइरल हुने संकेत देखिएको छ।
फिल्मको निर्देशन ऋषि लामिछानेले गरेका हुन्। लामिछाने करिब आठ वर्षपछि निर्देशनमा फर्किंदै यस फिल्ममार्फत पुनरागमन गरेका हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता तथा प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। उनी दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष पनि हुन्। ‘इच्छा’ फिल्मपछि लामो समयको विश्राम लिएका घिमिरेले यस फिल्ममार्फत पुनः निर्माणमा फर्किएका हुन्।
फिल्ममा केदार घिमिरे, वर्षा राउत, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर मोडल पवित्रा साकी (मिस पबी) र विशेष भूमिकामा अभिनेता आर्यन सिग्देल देखिनेछन्।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने कथा, पटकथा र संवाद सामीप्य राज तिमल्सेनाको रहेको छ। संगीत दीपक शर्मा र बाबुल गिरीले तयार पारेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।