‘नेशन्स गट ट्यालेन्ट–३’को मेगा अडिसनमा १८० बाल प्रतिभा

काठमाडौं । सातदेखि १३ वर्ष उमेर समूहका चार सय बालबालिकाबाट छनोट भएका १८० प्रतिभा ‘नेशन्स गट ट्यालेन्ट सिजन ३’को मेगा अडिसनमा पुगेका छन् । स्थानीय तहबाट सुरु भएको बाल प्रतिभा खोजी अब मेगा अडिसन हुँदै टेलिभिजनको मुख्य प्रतिस्पर्धातर्फ अघि बढेको छ ।

एएनपी मिडिया हाउसको आयोजनामा हुने रियालिटी शोका लागि गत वैशाखदेखि विभिन्न स्थानीय तहमा अडिसन सञ्चालन गरिएको थियो । ती अडिसनमा चार सय बालबालिकाले सहभागिता जनाएका थिए । स्थानीय चरण पार गरेका १८० प्रतिभाले अहिले मेगा अडिसनमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् ।

‘नेशन्स गट ट्यालेन्ट सिजन ३ किड्स डान्स’को मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुन थालेको छ । एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायक छन् ।

मेगा अडिसनपछि प्रतिस्पर्धा थप सीमित हुनेछ । आयोजकका अनुसार १८० प्रतिभामध्ये ८० जनाले मात्र टेलिभिजन राउन्डमा प्रवेश पाउनेछन् । एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार निर्णायकको छनोटबाट ६० जना र दर्शकको भोटिङबाट २० जना गरी ८० प्रतिभा छनोट गरिनेछ ।

यससँगै बाल प्रतिभाका लागि निर्णायकको मूल्यांकनसँगै दर्शकको रोजाइ पनि प्रतिस्पर्धाको महत्वपूर्ण हिस्सा बन्नेछ । स्थानीय तहबाट सुरु भएको प्रतिभा खोजी अब मेगा अडिसन हुँदै टेलिभिजनको मुख्य चरणमा प्रवेश गर्ने तयारीमा छ ।

प्रनीमा दाहालले सञ्चालन गरिरहेको शोमा शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजरका रूपमा छन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech