पुष्प र प्रशंसाको जोडीसहित ‘सिन्दूर’को छायांकन दाङबाट सुरु

काठमाडौं । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सिन्दूर’को छायांकन सुरु भएको छ । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण हुन लागेको फिल्मको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । पहिलोपटक जोडीका रूपमा पर्दामा देखिन लागेका पुष्प र प्रशंसाको अभिनयलाई फिल्मको प्रमुख आकर्षणका रूपमा हेरिएको छ । निर्माण पक्षले एक महिनाको छायांकन सेड्युल तय गरेको जनाएको छ ।

सञ्जीव सार्कीको लगानी रहने फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् । यसअघि ‘बुलाकी’ र ‘परालको आगो’ निर्देशन गरेका लक्ष्मण सुनारले ‘सिन्दूर’मा सामाजिक कथावस्तुलाई केन्द्रमा राखेका छन् ।

एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई फिल्मले कथाको मुख्य विषय बनाएको निर्देशक सुनारले बताएका छन् ।

संकल्प भुजेलको छायांकन रहने फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख तथा करणबहादुर साउद मुख्य सहायक निर्देशक छन् । फिल्मको नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech