काठमाडौं । हास्य, प्रेम र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको फिल्म ‘चमेलीको पोइ’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मले तनावपूर्ण दैनिकीबाट केही समय दर्शकलाई टाढा राख्दै मनोरञ्जन दिने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।
प्रदर्शनअघि नै फिल्मका गीत र प्रचार सामग्रीले दर्शकको ध्यान तानेका छन्। ‘माया मान्छौ र..’ गीतले युट्युबमा ३४ लाखभन्दा बढी भ्युज पाइसकेको छ भने ‘ओइ ओइ चमेली’ले १८ लाखभन्दा बढी भ्युज कटाएको छ। ‘माया मान्छौ र..’ गीतमा आधारित विभिन्न टिकटक तथा छोटा भिडियोसमेत सामाजिक सञ्जालमा चर्चामा छन्।
फिल्मको अर्को मुख्य आकर्षण वरिष्ठ हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’ हुन्। करिब १८ वर्षपछि उनी ठूलो पर्दामा फर्किएका छन्। लामो समय अमेरिकामा रहेका त्रिपाठीले ‘चमेलीको पोइ’मार्फत नेपाली फिल्ममा पुनरागमन गरेका हुन्।
नेपाल प्रदर्शनअघि अमेरिकाका विभिन्न स्टेटमा फिल्मको विशेष प्रदर्शन गरिएको थियो। निर्माण पक्षका अनुसार विशेष प्रदर्शनमा सहभागी नेपाली दर्शकले फिल्मको हास्य तथा मनोरञ्जनप्रधान प्रस्तुतिलाई रुचाएका थिए।
फिल्ममा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राई ‘फुलन्देकी आमा’, प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई र खड्कबहादुर पुनलगायत कलाकारको पनि अभिनय छ।
निर्देशक बोहराका अनुसार फिल्मले गम्भीर विषयलाई बोझिलो शैलीमा प्रस्तुत गर्नुको सट्टा हास्य, प्रेम, पारिवारिक सम्बन्ध र भावनात्मक घटनाक्रममार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ। अभिनेता मुकुन भुसालले फिल्मले दर्शकलाई हँसाउनुका साथै केही ठाउँमा भावुक पनि बनाउने बताएका छन्।
‘चमेलीको पोइ’ धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो। सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्ममा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता छन्। शेरबहादुर तामाङको छायांकन, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको वितरण आरआर फिल्म्सले गरेको छ।