काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यसहित पहिलो प्रचार सामग्रीका रूपमा टिजर सार्वजनिक गरेको हो।
टिजरले फिल्मको परिवेश र कथाका विभिन्न आयामको झलक प्रस्तुत गरेको छ। कथाबारे पूर्ण जानकारी नदिई दर्शकमा कौतुहलता जगाउने शैली अपनाइएको टिजरमा फिल्मभित्रका केही क्यान्डिड सटलाई समेत स्थान दिइएको छ।
‘बाटुलो जून’ ३० को दशकमा आधारित प्रेमकथामा बनेको फिल्म हो। आदर्श प्रेमलाई केन्द्रमा राखिएको फिल्मले त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
आजको प्रविधिमैत्री युग र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक समयको प्रेम र समाजलाई फिल्मले कथानकमा समेटेको छ।
फिल्मका निर्देशक भुवन केसी हुन्। यसअघि उनले निर्देशकीय फिल्म ‘ड्रिम्स’मा उत्तरआधुनिक प्रेमकथा प्रस्तुत गरेका थिए। ‘बाटुलो जून’मा भने उनी त्यसको तुलनामा धेरै पुरानो समयको प्रेमकथा लिएर आएका छन्।
भुवन केसीका अनुसार ‘बाटुलो जून’ पुरानो समयको कथा मात्र नभई उनको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको छ। आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरिएको उनको भनाइ छ।
फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् भने भुवन केसी पनि महत्वपूर्ण भूमिकामा देखिँदै छन्। यसै फिल्मबाट प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु गर्दैछिन्। बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही फिल्मबाट अभिनयमा पुनरागमन गरेकी छन्।
फिल्मको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन्। राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।
जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्मका सह-निर्माता विवेक थापा हुन्।
‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ।