‘१२ गाउँ २’को ‘लालीगुराँस’ सार्वजनिक

काठमाडौं । वर्षकै प्रतीक्षितमध्येको एक फिल्म ‘१२ गाउँ २’को नयाँ गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा शिव परियार र सारोही कुमारको स्वर रहेको छ। गीतमा युग भुसालको शब्द तथा संगीत छ।

प्रेमिल भावको गीतमा प्रकृतिलाई बिम्बका रूपमा प्रयोग गर्दै प्रेमी–प्रेमिकाबीचको समर्पण प्रस्तुत गरिएको छ। एकअर्काप्रति आकर्षित भएपछि प्रेममा परेका युवक–युवतीले गर्ने अनुभव, कल्पना र मायालुको सम्झनालाई गीतमा समेटिएको छ।

मायालुको सम्झनामा उसको नाम नै जीवन जिउनका लागि पर्याप्त हुने प्रेमिल भावसमेत गीतमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीले अभिनयसँगै नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा समीर भट्ट र कृशु शाहीसँगै विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ।

यसै फिल्मबाट कृशु शाही र वर्षा इटनीले नेपाली फिल्ममा डेब्यु गर्दैछन्।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन्। छायांकन महेश पौडेलको छ। संगीत युग भुसाल र डीपी खनालको, सम्पादन बन्दे प्रसादको तथा नृत्य निर्देशन रामजी लामिछाने र सियोन श्रेष्ठको रहेको छ। द्वन्द्व निर्देशन सिल्भा र शंकर महर्जनले गरेका छन्।

फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

https://www.youtube.com/watch?v=a8BlCN7lJVk

 


 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech