काठमाडौं । आगामी बडादशैँको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’को टिमलाई हङकङमा सम्मान गरिएको छ।
फिल्मको अन्तिम छायांकनका लागि हङकङ पुगेका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई खुसी इभेन्टस्ले औपचारिक ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
गुरुङ संस्कृति तथा परम्पराअनुसार आयोजित कार्यक्रममा अतिथिलाई फेटा गुथाएर खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गरिएको थियो। हङकङमा फिल्मको सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इभेन्टस्ले सम्हालिरहेको छ।
खुसी इभेन्टस्की निर्देशक खुसी गुरुङले नेपाली फिल्मका स्थापित निर्देशक तथा कलाकारलाई स्वागत र सम्मान गर्न पाउँदा खुसी लागेको बताइन्। उनले प्रवासमा हुने नेपाली फिल्मका छायांकन तथा अन्तर्राष्ट्रिय शोमा आगामी दिनमा पनि सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सम्मान ग्रहण गर्दै अभिनेता पल शाहले हङकङमा रहेर पनि नेपाली फिल्म, भाषा र संस्कृतिप्रति देखाइएको माया र सम्मानले आफूलाई थप उत्साहित बनाएको बताए। उनले हङकङका दर्शकले आफ्ना फिल्मलाई दिँदै आएको साथले अभिनय यात्रामा अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताए।
कार्यक्रममा निर्देशक चन्द्र पन्तले हङकङमा पाएको सम्मानप्रति खुसी इभेन्टस् तथा हङकङवासी दर्शकलाई आभार व्यक्त गरे। उनले फिल्मका प्रचार सामग्रीले दर्शकबाट पाएको प्रतिक्रियाले आफू र आफ्नो टिमको जिम्मेवारी अझ बढाएको बताए।
फिल्मको आधिकारिक टिजर र पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पार गरिसकेको निर्माण पक्षले जनाएको छ। फिल्मका पोस्टरसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको र सकारात्मक प्रतिक्रिया पाएको निर्देशक पन्तले बताए।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘आ बाट आमा २’को हङकङ सेड्युल सम्पन्न भइसकेको छ। टिम नेपाल फर्किएपछि अन्तिम पोस्ट–प्रोडक्सनको काम पूरा गर्ने तयारीमा छ।
पारिवारिक विछोड र आमाप्रतिको प्रेमको कथामा आधारित फिल्म आगामी असोज ३० गते बडादशैँको अवसरमा देशभरका सिनेमाघरमा रिलिज हुँदैछ।