काठमाडौं । तेह्रथुमको म्याग्लुङबाट ‘सुरताल म्युजिकल टुर २०८३’ सुरु भएको छ । टुरको पहिलो कार्यक्रममा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुले एउटै स्टेजमा लाइभ प्रस्तुति दिएका छन् ।
म्याग्लुङमा आयोजित कन्सर्टमा तीनै कलाकारले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा हजारौं दर्शकले सांगीतिक मनोरञ्जन लिए । प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे ।
कार्यक्रममा प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्याण्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डले समेत लाइभ प्रस्तुति दिएका थिए । आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक उपस्थित थिए ।
तेह्रथुमबाट सुरु भएको यो सांगीतिक यात्रा सातै प्रदेशका १३ शहरसम्म पुग्नेछ । आगामी कार्यक्रम असोज १७ गते खाँदबारी र असोज १९ गते हिलेमा हुनेछ । त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कन्सर्ट आयोजना गरिनेछ ।
टुरअन्तर्गत नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका शहरमा पनि कार्यक्रम हुने आयोजकले जनाएको छ ।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा भइरहेको टुर स्थानीय आयोजक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुलाई एउटै टुरमा सहभागी गराएर सातै प्रदेशका विभिन्न शहरमा कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ ।