भिडियो छायाँकनमा गर्विलो नाम: मधुर बस्नेत

फिल्मी फण्डा । मधुर बस्नेत, छायाँकन पेशामा एउटा खम्बा हुन् । नेपाली चलचित्र होस् या म्यूजिक भिडियोको क्षेत्र होस् मधुर बस्नेतको नाम अग्रपंक्तिमा रहने गरेको छ । छायाँकनको पेशामा लागेकाहरुका लागि उनी गुरु बनिसकेका छन् । अग्रज छायाँकारका रुपमा स्थापित भइसकेका उनले हजारौं म्यूजिक भिडियो छायाँकन गरेका छन् । चलचित्र छायाँकन, निर्देशन एवं म्यूजिक भिडियोमा मोडलिङ समेत गरेका छन् मधुरले ।
मधुर बस्नेत नाम जस्तै मधुरता प्रस्तुत गर्ने व्यक्तिमा पर्छन् । छायाँकार मधुर बस्नेतको प्रारम्भिक शिक्षा भारतको सिलोङमा भएको थियो । उनले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट उच्च शिक्षा हासिल गरेका हुन् । कलेज पढ्दापढ्दै फिल्म क्षेत्रमा आकर्षित भएकाले उनी क्यामेरासम्बन्धी ज्ञान हासिल गरेर नेपाल फर्किएका थिए ।
वि.सं. २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि रेडियोमा सुनिने गीत टेलिभिजनमा पनि देखिन थाले । विस्तार विस्तार टेलिभिजनको पहुच सर्वसाधारणसम्म पुग्न थालेसँगै अन्य टेलिभिजन च्यानल पनि सञ्चालनमा आउन थाले, फलत नेपाली गीत संगीतको भिडियो निर्माणसँगै टेलिभिजन कार्यक्रम पनि निर्माण हुन थालेका थिए ।

madhur-basnet-1.jpg

नेपाल टेलिभिजन स्थापनाको झन्डै एक दशकपछि २०५२ सालताका क्यामेरासम्बन्धी सामान्य तालिम लिई भारतबाट नेपाल फर्केका थिए छायाँकार मधुर बस्नेत । आज उनी नेपाली गीतसंगीतको म्युजिक भिडियो निर्माणमा एउटा गर्विलो नाम भएको छ ।
नेपाली टेलिभिजनका लागि कार्यक्रम निर्माणमा जुटिरहेका बाबुराजा केसी (उज्ज्वल), विनोद शर्मा, गोपाल बास्कोटालगायतसँग भेट भएपछि २०५२ सालतिरै वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगार, सूचना र समाचार कार्यक्रम निर्माण गर्न थाले । लगभग ५२ एपिसोड छायाँकन एवं प्रसारण गरेपछि मधुरले डकुमेन्ट्री, विज्ञापनको क्षेत्रमा हात हालेका थिए ।
बाबुराजा केसी (उज्ज्वल) र गोपाल बास्कोटासँग मिलेर उनले २०५४ सालमा डिल्लीबजारमा कृष्ण फिल्मस नाम कम्पनी सञ्चालन गरे । संघर्षका ती दिन सम्झँदै मधुर बस्नेत भन्छन्– ‘कार्यालय खोलिहालियो । एक फ्ल्याटको सात हजार भाडा तिर्नुपर्ने । काम खासै छैन, के गर्ने के गर्ने भएपछि दोहोरी गीतको भिडियो बनाऔं भनेर सल्लाह ग¥यौं । मार्केटिङ गर्न म्युजिक कम्पनीतिर धाउन थाल्यौं । धेरै धाएपछि भर्खर भर्खर सुरु भएको धौलागिरी क्यासेट सेन्टरले तीन हजार दिएर भिडियो निर्माण गर्न दियो । त्यो दिन हामी जति खुसी कोही थिएन होला ।’
Cinematographer Madhur Basnet
भिडियो बनाएपछि कहाँ लगेर देखाउने भन्ने समस्या देखिएको उनले बताए । ‘नेपाल टेलिभिजनमा कुरा राख्यौं । त्यो बेला बिहान ७ बजेको समाचार सकिएपछिको पाँच मिनेटको समय किनेर एक–एक मिनेटको प्रोमो देखाएपछि त व्यापक भयो ।’ त्यसपछि म्यूजिक भिडियोको निर्माणको संख्या बढ्न थाल्यो । निरन्तर भिडियो निर्माण हुन थालेपछि मधुरको कामले पनि निरन्तरता पायो र उनलाई छायाँकनको काममा व्यस्त बनायो । कृष्ण फिल्म्स्ले नाम र दामको यात्रा तय ग¥यो ।
समय कसैको साथमा नहुने रहेछ भन्दै उनले भने, ’२०६४ सालमा अति मिलनसार, सहयोगी, कृष्ण फिल्मसका संचालक साथी गोपाल बास्कोटाको असामयिक निधनले आज पर्यन्त पनि मन पोलीरहन्छ ।’

ठूलो पर्दाका जादूगर २, जेसुकै होस्, नैना रेशम, टेलिचलचित्र चेली, शक्तिलगायत विभिन्न हेरिटेज वृत्तचित्र, विज्ञापन, सुुसेली, लोकसुसेली, लोकभाका टेलिभिजन कार्यक्रमलगायत झन्डै आठ हजारभन्दा बढी म्युजिक भिडियोको छायाँकन गरिसकेका छन् मधुर बस्नेतले ।
उनी क्यामेरा मात्र चलाउँदैनन्, निर्देशन पनि गर्छन् । गीतमा मोडलिङ गर्छन् । भरिया दाइ, मोहनी बोलीमा, मायाले मा¥यो, कालीपारे दाइलगायत धेरै गीतमा उनले मोडलिङ गरेका छन् ।
टेली अवार्ड २०६८ मा सर्वोत्कृट म्युजिक भिडियो निर्देशकको अवार्ड पाइसकेका मधुर बस्नेतले विभिन्न पुरस्कार तथा सम्मान पाइसकेका छन् । १२ औं विन्ध्यावासिनी अवार्ड २०७८ मा उनले सर्वोत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरेका छन् । विभिन्न रियालिटी शो, प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरेका मधुरले विभिन्न सम्मान तथा कदरपत्रहरु पनि प्राप्त गरेका छन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech