‘कबड्डी ५’को घरेलु बक्स अफिसमा ७ करोड ६९ लाखभन्दा बढी कमाइ

फिल्मी फण्डा । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘कबड्डी ५’ले घरेलु बक्स अफिसमा ७ करोड ६९ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । फिल्मले बुधबार दिउँसो ३ बजेसम्म उक्त रकम बराबरको व्यापार गरेको हो ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको फिल्मले पहिलो दिन नै २ करोड १३ लाख रुपैयाँभन्दा बढीको ओपनिङ गरेको थियो । तीन दिनमा ५ करोड रुपैयाँको आँकडा पार गरेको ‘कबड्डी ५’ले शुरुवाती दुई दिनमै २ करोड ५० लाख रुपैयाँभन्दा बढी कमाएपछि क्युएफएक्सले सुपरहिट घोषणा गरिएको थियो ।

दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मप्रति हलमा दर्शकको आकर्षण निरन्तर बढ्दो छ । फिल्मका अधिकांश शो हाउसफुल भइरहेका छन् भने प्रदर्शनको क्रमसँगै व्यापारमा पनि वृद्धि देखिएको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको ‘कबड्डी ५’मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ ।

फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech