‘जलाकी’को अमेरिका र क्यानडा राइट्स बिक्री

फिल्मी फण्डा । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । पिएनएम एलएलसीले सिनेमाको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो । निर्देशक मगरले राइट्स बिक्री भएको जानकारी दिँदै अमेरिका र क्यानडामा सिनेमाको प्रदर्शन मिति वितरक र निर्माताबीचको सल्लाहमा तय गरिने बताएका छन् ।

नेपालमा भने ‘जलाकी’ आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनालाई कथाको केन्द्रमा राखिएको सिनेमालाई निर्देशक मगरले सांस्कृतिक कथावस्तुमा आधारित फिल्मका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द ‘जलाकी’ हो । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर उनले सिनेमाको कथा तयार पारेका हुन् ।

सिनेमाका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजरसमेत सार्वजनिक भइसकेका छन् । सार्वजनिक सामग्रीले दर्शकमाझ चर्चा पाउँदै आएको छ । विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । उक्त गीतसँगै ‘कलेजीको छेऊ’ र ‘जाले रुमाल मायालाई’ पनि रिल्स तथा सर्ट्समा रुचाइएका छन् । गीत तथा टिजरले चर्चा पाएसँगै ‘जलाकी’प्रति दर्शकको उत्सुकता पनि बढेको छ ।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतले अभिनय गरेका छन् । विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने बालकलाकारतर्फ मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन् । यही सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । ‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले नेपालमा वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech