ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

फिल्मी फण्डा । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भइरहेको नेपाली फिल्म ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो।

गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित फिल्म ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। राजनीतिसँगै फिल्म निर्माणमा समेत सक्रिय रहेका पूर्वमन्त्री गुरुङको परिकल्पनामा निर्माण भइरहेको यस फिल्मको असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको थियो। सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।

फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अभिनेत्री संस्कृति गुरुङका लागि भने ‘बुकी फूल’ डेब्यु फिल्म हो। साथै फिल्ममा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायांकन सुसान प्रजापतिले गरेका हुन्। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन् भने सहायक निर्देशकका रूपमा विशाल राई र सुरेन्द्र सिंहले साथ दिएका छन्। कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्। पोसाक व्यवस्थापन कमला छ्यान्त्यालले सम्हालेकी छन् भने लाइभ साउन्डमा नवीन श्रेष्ठ, मेकअपमा विक्रम थापा र बीटीएस छायांकनमा समीर गुरुङ रहेका छन्। सहनिर्माण नियन्त्रकका रूपमा टेक गुरुङले जिम्मेवारी निर्वाह गरेका छन्। फिल्मको नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।

फिल्मका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै फिल्मको सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन कार्य सुरु गर्ने जनाएको छ।

गुरुङ सभ्यताको मौलिक कथा, संस्कृति र ऐतिहासिक परिवेशलाई केन्द्रमा राखेर निर्माण भइरहेको ‘बुकी फूल’ फरक कथावस्तु र प्रस्तुतिका कारण दर्शकमाझ विशेष बन्न सक्ने अपेक्षा गरिएको छ। तत्कालीन जीवनशैली र सांस्कृतिक परिवेशलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले पनि यसको प्रतीक्षालाई थप रोचक बनाएको छ।

सिक्लेस तथा आसपासका क्षेत्रमा छायांकन सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण कलाकार, प्राविधिक, स्थानीयवासी, शुभेच्छुक तथा फिल्म परिवारप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ। साथै चलचित्रको आगामी यात्राका लागि सबैको माया, साथ र शुभेच्छाको अपेक्षा गरेको छ।

मौलिक कथा, गुरुङ सभ्यताको पहिचान र ऐतिहासिक परिवेशलाई समेट्ने लक्ष्यसहित निर्माण भइरहेको ‘बुकी फूल’ अब सम्पादन हुँदै दर्शकमाझ पुग्ने तयारीमा छ।
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech