काठमाडौं । आगामी कात्तिक २६ गते प्रदर्शन मिति तय गरेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार फिल्मको शीर्ष गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।
फिल्मकै नाममा रहेको ‘बाटुलो जून’ शीर्षकको गीतमा अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशकसमेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् ।
यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टोलीले भुवन केसीलाई देखाए पनि गरिमा पन्तलाई भने लुकाएको थियो । पछिल्लो समय नेपालबाहिर बस्दै आएकी गरिमाका लागि यो कमब्याक फिल्म हो ।
राम अविरल बिष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ । गीतको संगीत संयोजन पनि गायक योगीले नै गरेका हुन् । नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र संगीतअनुसार कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेका छन् ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय छ । विवेक थापा फिल्मका सहनिर्माता हुन् ।
कृष्ण भण्डारी सम्पादक रहेको फिल्मको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्मको पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन् ।