काठमाडौं । फिल्म ‘गौंथली’ले प्रदर्शनको ७५ दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म असोज १५ गतेदेखि ७६औँ दिनमा प्रवेश गरेको हो।
निर्माता सुमन गिरीका अनुसार फिल्मले हालसम्म २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो अवधिसम्म फिल्मका ९ लाख ४३ हजार ३३१ टिकट बिक्री भएका छन्।
फिल्म विकास बोर्डको सिनेपाः विवरणअनुसार असोज ११ गतेसम्म ‘गौंथली’ले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यसपछि थप भएको कलेक्सनसहित फिल्मको कुल कमाइ २६ करोड पुगेको निर्माता गिरीले बताएका छन्।
‘गौंथली’ नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा दोस्रो स्थानमा रहेको निर्माण पक्षको दाबी छ। यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको थियो।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।