काठमाडौं । ‘बाः एक योद्धा’ले प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा व्यापारमा क्रमिक सुधार देखाएको छ । सात दिनमा फिल्मले १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
पहिलो दिन ६ लाख रुपैयाँबाट व्यापार सुरु गरेको फिल्मलाई सात दिनमा ४० हजार ८२३ दर्शकले हेरेका छन् । निर्माण पक्षका अनुसार पछिल्ला दिनमा हलमा दर्शकको चाप बढ्दै गएको छ भने दर्शकको मागअनुसार हलहरूले शो संख्या पनि थपिरहेका छन् ।
वितरकका अनुसार दोस्रो सातामा फिल्मले देशभर एक सयभन्दा बढी शो पाएको छ । राम्रो ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेकाले आगामी दिनमा दर्शकको संख्या अझ बढ्ने निर्देशक हरि लम्सालको अपेक्षा छ ।
लम्सालले दर्शकले फिल्म हेरेपछि परिवारका अन्य सदस्यलाई पनि फिल्म हेर्न आग्रह गरिरहेको बताएका छन् । उनका अनुसार यही प्रतिक्रियाले फिल्मको व्यापारलाई क्रमशः बढाउन सहयोग गरिरहेको छ ।
फिल्मका अभिनेता दिव्यदेवले यसको व्यापारलाई इभी गाडीसँग तुलना गर्दै फिल्मले विस्तारै गति लिइरहेको बताएका छन् ।
‘बाः एक योद्धा’ बाबुले सन्तानको भविष्यका लागि गर्ने त्याग र संघर्षको कथामा आधारित छ । सन्तानका चाहना पूरा गर्न आमाबाबुले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र दुःखलाई पनि फिल्मले कथामा समेटेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकार छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता रहेका छन् ।