‘द प्रोफेसनल गाइज’ निर्माण घोषणा, मार्टिन–डार्विनले निर्देशन गर्ने

काठमाडौं । जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ फिल्म ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले विशेष भिडियोमार्फत फिल्मको शीर्षक घोषणा गर्दै यसको क्रेडिटसमेत सार्वजनिक गरेको हो।

‘द प्रोफेसनल गाइज’को लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले गर्नेछन्। अमन श्रेष्ठ सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरका रूपमा जोडिएका छन्।

फिल्मका निर्माता अमन श्रेष्ठ र डार्विन श्रेष्ठ हुन् भने मार्टिन भण्डारी सह–निर्माताका रूपमा रहेका छन्।

‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ स्लोगनसहित फिल्मको घोषणा गरिएको हो।

फिल्मको शीर्षक घोषणा शैलीसमेत फरक राखिएको छ। निर्माण टिमले सार्वजनिक गरेको विशेष भिडियोमा प्रयोग गरिएका शब्द, प्रस्तुति र शैलीलाई सामान्य टाइटल घोषणाभन्दा अलग र आकर्षक बनाइएको छ। घोषणा भिडियोमार्फत नै फिल्मप्रति कौतुहलता सिर्जना गर्ने प्रयास गरिएको देखिन्छ।

फिल्ममा कलाकारका रूपमा को–को रहनेछन्, कथा तथा विषयवस्तु के हुनेछ र निर्माण तथा प्रदर्शन मिति कहिले तय हुनेछ भन्नेबारे निर्माण पक्षले थप जानकारी सार्वजनिक गरेको छैन।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech