प्रिमियरमै प्रशंसित ‘कमला मिस’, साउन २२ देखि प्रदर्शनमा

फिल्मी फण्डा। बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जय नेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले चलचित्रको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका छन्।

बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका संघर्षलाई मार्मिक र प्रभावकारी ढंगले प्रस्तुत गरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। चलचित्रले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको उनीहरूको भनाइ छ।

प्रिमियर कार्यक्रममा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले ‘कमला मिस’ मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने उत्कृष्ट चलचित्र बनेको बताएका छन्।

विशेष विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बालमनोविज्ञान, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई चलचित्रले अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै हरेक शिक्षक, अभिभावक र विद्यार्थीले एकपटक अवश्य हेर्नुपर्ने चलचित्र भएको प्रतिक्रिया दिएका छन्।

वरिष्ठ कलाकार निर शाहको निर्देशनमा बनेको ‘कमला मिस’ लाई साहित्य, समाज र शिक्षालाई चलचित्रमार्फत जोड्ने अर्थपूर्ण प्रयासका रूपमा समेत हेरिएको छ। प्रिमियरमा उपस्थित अधिकांश दर्शकले चलचित्रले भावुक बनाउनुका साथै जीवनका महत्वपूर्ण पक्षबारे गम्भीर रूपमा सोच्न बाध्य बनाएको बताएका छन्।

चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

सामाजिक सन्देश बोकेको चलचित्र ‘कमला मिस’ यही साउन २२ गते शुक्रबारदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउनेछ। निर्माण पक्षले पारिवारिक तथा शैक्षिक विषयवस्तुमा आधारित यस चलचित्रले सबै वर्गका दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech