‘पार्वती’को टिजरपछि नीता ढुङ्गानाको अभिनय चर्चामा

फिल्मी फण्डा। आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को टिजर सार्वजनिक भएपछि अभिनेत्री नीता ढुङ्गानाको अभिनय चर्चामा आएको छ।

सार्वजनिक टिजरमा नीता अटिजम भएकी युवतीको भूमिकामा देखिएकी छन्। पात्रको भावभंगी, हाउभाउ र भाइप्रतिको स्नेहलाई उनले प्रस्तुत गरेको शैलीले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ।

अटिजमजस्तो संवेदनशील विषयमा आधारित पात्र निर्वाह गर्नु चुनौतीपूर्ण मानिन्छ। टिजर सार्वजनिक भएपछि धेरै दर्शकले नीताले उक्त भूमिकालाई स्वाभाविक रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

यसअघि ‘किसान’, ‘मसान’, ‘नोटबुक’, ‘छ एकान छ’ लगायतका फिल्ममा अभिनय गरिसकेकी नीताले सात वर्षअघि प्रदर्शनमा आएको **‘पञ्चायत’**मा वि.सं. २०३३ सालकी एक किशोरीको भूमिकाबाट पनि प्रशंसा बटुलेकी थिइन्। संयोगवश ‘पञ्चायत’ र ‘पार्वती’ दुवै फिल्मका लेखक शिवम् अधिकारी हुन्।

फिल्मबारे नीताले ‘पार्वती’ समाजका धेरै पात्रहरूको कथा भन्ने फिल्म रहेको बताएकी छन्। उनका अनुसार समाजमा देखिएका र भोगिएका यथार्थलाई पर्दामा उतार्ने प्रयास गरिएको छ।

अभिनयसँगै निर्माणमा पनि सक्रिय रहेकी नीताले गत वर्ष ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन्। ‘पार्वती’ मार्फत भने उनी पहिलो पटक निर्देशकका रूपमा पनि प्रस्तुत हुँदैछिन्।

अभिनेत्री, निर्माता र अब निर्देशकका रूपमा नीताको नयाँ यात्रा सुरु हुने ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech