फिल्मी फण्ड। निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘प्रतिज्ञा’मार्फत उनी निर्देशनमा आउन लागेका हुन्।
बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।
२०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र **‘परालको आगो’**मा लगानी गरिसकेका छन्। उनका सफल फिल्ममध्ये ‘जय शिव शंकर’, ‘जीवनदाता’ र **‘मैदान’**लाई विशेष रूपमा लिइन्छ।
सात वर्षको अन्तरालपछि गतवर्ष **‘परालको आगो’**मार्फत निर्माता रूपमा पुनरागमन गरेका पोखरेलले यसपटक निर्देशनमा हात हालेका हुन्। तीन दशक लामो निर्माण अनुभवलाई निर्देशनमा रूपान्तरण गर्दै दर्शकमाझ सशक्त कथा प्रस्तुत गर्ने तयारीमा रहेको उनले बताएका छन्।
उनले भने, "नेपाली फिल्ममा मेरो तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु। उत्कृष्ट कथावस्तुले नै निर्देशनतर्फ आकर्षित गरेपछि यो यात्रा सुरु गर्ने निर्णय गरेको हुँ।"
सार्वजनिक गरिएको थिम पोस्टरमा भगवान् शिवको विशाल स्वरूप र त्रिशूल चित्रित गरिएको छ। पोस्टरमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ’ भन्ने ट्यागलाइन राखिएको छ, जसले फिल्म न्याय, संघर्ष र दृढ संकल्पको कथामा आधारित रहेको संकेत गर्छ।
फ्यामिली थ्रिलर जनरामा बन्ने फिल्मको छायांकन आगामी तिहारको आसपास सुरु गर्ने तयारी रहेको निर्देशक पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ।
निर्माण टिमले फिल्मलाई नयाँ वर्ष २०८४मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। कलाकार तथा प्राविधिक टोलीबारे थप विवरण भने केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।