१० ऐतिहासिक नेपाली फिल्मले पाए ‘युनिभर्सल’ प्रमाणपत्र, अब सार्वजनिक प्रदर्शनको बाटो खुल्यो

फिल्मी फण्डा। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली फिल्मको जाँचपास प्रक्रिया सम्पन्न भएको छ।

जाँचपास प्रक्रिया पूरा भएका सबै फिल्मले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरेका हुन्।

यी फिल्म यसअघि नै डिजिटाइज गरी चलचित्र विकास बोर्डको चलचित्र सङ्ग्रहालयमा सुरक्षित राखिएको भए पनि जाँचपास प्रक्रिया भने पूरा भएको थिएन। प्रचलित कानुनी व्यवस्थाअनुसार जाँचपास प्रमाणपत्रबिना कुनै पनि फिल्म नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गर्न पाइँदैन।

जाँचपास प्रक्रिया सम्पन्न भएसँगै अब यी ऐतिहासिक फिल्मलाई फिल्म महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहमा प्रदर्शन गर्न सकिने भएको छ।

‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गर्ने १० फिल्म:

  • कुमारी
  • सिन्दुर
  • आमा
  • बदलिँदो आकाश
  • के घर के डेरा
  • शान्तिदीप
  • जीवनरेखा
  • मनको बाँध
  • परिवर्तन
  • हिजो आज भोलि

यी फिल्म नेपाली फिल्म क्षेत्रको विकासक्रम, तत्कालीन सामाजिक अवस्था, कला, संस्कृति, भाषा, जीवनशैली तथा फिल्म निर्माण प्रविधिको अध्ययनका लागि महत्त्वपूर्ण दृश्य–श्रव्य सम्पदाका रूपमा रहेका छन्।

चलचित्र विकास बोर्डले नेपाली फिल्म इतिहाससँग सम्बन्धित पुराना तथा दुर्लभ फिल्मको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण, संरक्षण तथा पुनःप्रदर्शनलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।

बोर्डका अनुसार जाँचपास प्रक्रिया पूरा भएका यी ऐतिहासिक फिल्मलाई नयाँ पुस्तासम्म पुर्‍याउने, नेपाली फिल्मको इतिहास र विकासक्रमबारे जानकारी गराउने तथा राष्ट्रिय फिल्म सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न विशेष प्रदर्शनी कार्यक्रम आयोजना गरिनेछ।

नेपाली फिल्मको अमूल्य इतिहासलाई संरक्षण गर्दै भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने चलचित्र विकास बोर्डको अभियानमा यस कार्यले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बोर्डले व्यक्त गरेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech