फिल्मी फण्डा। आगामी भदौ १९ गते (४ सेप्टेम्बर)देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ककाकिकी’को लिरिकल थिम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढेको छ।
सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द तथा संगीत रहेको छ। यसअघि सार्वजनिक गरिएको फर्स्ट लुक भिडियोमा गीतको छोटो हुक लाइन समावेश गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए।
यसअघि सार्वजनिक भएको फर्स्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलेको थियो। विशेषगरी गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीका क्यारेक्टर लुक्सले दर्शकको ध्यान तानेका थिए। फर्स्ट लुकपछि फिल्मप्रेमीहरूले नेपाली सिनेमामा लामो समयपछि फरक स्वाद, नयाँ प्रस्तुति र भिन्न कथावस्तु बोकेको फिल्म हेर्न पाइने अपेक्षा व्यक्त गरेका छन्।
फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ भने अब निर्माण टिमले छिट्टै ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लिरिकल थिम गीत सार्वजनिक भएसँगै प्रचार अभियानलाई थप तीव्र बनाइएको छ।
बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।
सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले लेखेका हुन्। फिल्मको छायांकन सुदीप बरालको टोलीले गरेको हो। टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको छ।
फर्स्ट लुक, पोस्टर र अहिले सार्वजनिक गरिएको लिरिकल थिम गीतले ‘ककाकिकी’लाई वर्षकै प्रतीक्षित फिल्ममध्ये एकका रूपमा स्थापित गरेको देखिन्छ। अब ट्रेलरमार्फत फिल्मले दर्शकमाझ कस्तो प्रभाव छोड्ने हो भन्ने प्रतीक्षा थप बढेको छ।