ईन्फा अवार्ड–२०२६ : मनोनयन सार्वजनिकसँगै प्रतिस्पर्धा रोचक, ‘ऊनको स्विटर’ र ‘जेरीः अन टप’ बलियो दाबेदार

फिल्मी फण्डा। तेस्रो संस्करणको इन्टरनेशनल नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली चलचित्र क्षेत्रमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ।

इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) को आयोजनामा साउन ३० गते काठमाडौंस्थित याक एण्ड यति होटलमा हुने अवार्ड समारोहअघि नै कुन चलचित्र र कलाकार बलियो प्रतिस्पर्धी हुन् भन्ने विषयमा बहस सुरु भएको हो।

यस वर्ष २०८२ सालभर प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्येबाट अनुभवी निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो। मनोनयन सूचीअनुसार 'ऊनको स्विटर', 'जेरीः अन टप', 'कोशेढुंगा', 'परान' र 'आ बाट आमा' ले मुख्य विधाहरूमा उल्लेखनीय उपस्थिति जनाएका छन्।

उत्कृष्ट चलचित्रदेखि निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, छायांकन, संगीत तथा अन्य प्राविधिक विधासम्म यी चलचित्रले प्रभावशाली मनोनयन प्राप्त गरेका छन्। सामाजिक, पारिवारिक, प्रेमकथा तथा व्यावसायिक मनोरञ्जनका विविध विषयवस्तु समेटिएका चलचित्रबीचको प्रतिस्पर्धाले यस वर्षको अवार्डलाई थप रोचक बनाएको छ।

उत्कृष्ट निर्देशक विधामा दीपकप्रसाद आचार्य, नविन चौहान, सरोज पौडेल, सुदिप्ता र सुयोग गुरुङ प्रतिस्पर्धामा छन्। उनीहरूले आ–आफ्ना चलचित्रमार्फत फरक शैलीको निर्देशन प्रस्तुत गरेका छन्।

अभिनयतर्फ उत्कृष्ट अभिनेता विधामा अनमोल केसी (जेरीः अन टप), नाजिर हुसेन (गुन्यु चोलो), नीर शाह (परान), पल शाह (आ बाट आमा) र विपिन कार्की (ऊनको स्विटर) मनोनयनमा परेका छन्।

यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त प्रतिस्पर्धामा छन्। पाँचै कलाकारले फरक प्रकृतिका भूमिकामार्फत आफूलाई अब्बल सावित गरेका कारण यस विधाको प्रतिस्पर्धा पनि निकै रोमाञ्चक बनेको छ।

आयोजकका अनुसार सम्पूर्ण मूल्याङ्कन पूर्ण रूपमा निष्पक्ष, पारदर्शी तथा अंक प्रणालीमा आधारित हुनेछ। त्यसैले अन्तिम नतिजाले अनुमानभन्दा फरक परिणाम ल्याउन सक्ने सम्भावना पनि रहेको चलचित्र वृत्तमा चर्चा छ।

यसैबीच, इन्फा इभेन्ट्स यूके लिमिटेडका अध्यक्ष उमेशराज मोक्तान तथा इन्फा नेपाल लिमिटेडका अध्यक्ष सुनिल श्रेष्ठले अवार्डका सम्पूर्ण निर्णय स्वतन्त्र निर्णायक मण्डलबाट हुने र त्यसमा आयोजक, प्रायोजक वा अन्य कुनै पक्षको प्रभाव नपर्ने स्पष्ट पारेका छन्।

मनोनयनका पाँच रोचक पक्ष

यस वर्षको मनोनयन सूचीले नेपाली चलचित्र उद्योगको बदलिँदो प्रवृत्तिलाई पनि संकेत गरेको छ।

  • 'ऊनको स्विटर' र 'जेरीः अन टप' ले मुख्यदेखि प्राविधिक विधासम्म उल्लेखनीय मनोनयन प्राप्त गर्दै सबैभन्दा बलियो दाबेदारका रूपमा आफूलाई स्थापित गरेका छन्।
  • उत्कृष्ट अभिनेता, अभिनेत्री र निर्देशक विधामा नयाँ तथा अनुभवी प्रतिभाबीचको प्रतिस्पर्धाले पुस्तान्तरणको संकेत दिएको छ।
  • छायांकन, सम्पादन, पटकथा, पार्श्व संगीत, नृत्य निर्देशन र द्वन्द्व निर्देशनजस्ता प्राविधिक विधामा पनि कडा प्रतिस्पर्धा देखिएको छ।
  • सामाजिक, पारिवारिक, प्रेमकथा, एक्सन तथा ग्रामीण परिवेशमा आधारित चलचित्रले समान रूपमा प्रतिनिधित्व पाएका छन्।
  • पहिलो र दोस्रो संस्करण बेलायतमा सम्पन्न भएको ईन्फा अवार्ड यस वर्ष पहिलो पटक नेपालमै आयोजना हुन लागेकोले यसको उत्साह अझ बढेको छ।

फिल्म विश्लेषकहरूका अनुसार यस वर्ष लोकप्रियताभन्दा पनि पात्रको गहिराइ, अभिनयको स्वाभाविकता, कथामा कलाकारको प्रभाव र समग्र प्रस्तुतिलाई निर्णायक मापदण्डका रूपमा हेरिने सम्भावना छ।

वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा सम्मिलित निर्णायक मण्डलले अंक प्रणालीका आधारमा अन्तिम निर्णय गर्नेछ।

अब नेपाली चलचित्र वृत्तको नजर साउन ३० गते हुने अवार्ड समारोहतर्फ केन्द्रित भएको छ, जहाँ यस वर्षका उत्कृष्ट चलचित्र र चलचित्रकर्मीले प्रतिष्ठित ईन्फा अवार्ड–२०२६ को ट्रफी उचाल्नेछन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech