फिल्मी फण्डा। नेपाली चलचित्र 'पञ्चमी'को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि रहेर नेपाली चलचित्र उद्योगमा सक्रिय रहेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्।
चलचित्रको घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले 'पञ्चमी' नेपाली चलचित्रमा साइकोलोजिकल मिस्ट्री थ्रिलर विधामा नयाँ स्वाद थप्ने संकेत गरेको छ।
निर्देशक बस्नेतले यसअघि दीपेन्द्र के. खनालसहित विभिन्न निर्देशकसँग चिफ एडी (Chief AD) र कार्यकारी निर्माताको रूपमा काम गरिसकेका छन्। 'पञ्चमी' भने उनको पहिलो निर्देशकीय चलचित्र हुनेछ।
सार्वजनिक थिम पोस्टरमा पुरानो टाइपराइटरमा 'पञ्चमी' लेखिएको देखिन्छ। पोस्टरमा त्रिशूल, दुई नाग, शीर्षकलाई घेरेका पाँचवटा घेरा, नाग अंकित रहस्यमयी लकेट तथा सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र समावेश गरिएको छ। निर्देशक बस्नेतका अनुसार यी सबै प्रतीक चलचित्रका पात्र र कथासँग प्रत्यक्ष रूपमा जोडिएका छन्, जसको अर्थ चलचित्र हेरेपछि मात्र स्पष्ट हुनेछ।
पोस्टरमा रहेको 'I Hate Whoever Comes Late' भन्ने वाक्यांशले पनि दर्शकमाझ थप जिज्ञासा सिर्जना गरेको छ। यो संवाद कसका लागि र कुन सन्दर्भमा प्रयोग गरिएको हो भन्ने कुरा निर्माण टिमले हालसम्म गोप्य राखेको छ।
निर्देशक बस्नेतले पोस्टरको अवधारणाबारे भने, "टाइटलमा हामीले प्रयोग गरेका डिजाइन अहिले हेर्दा केही जटिल लाग्न सक्छ। तर चलचित्र हेरेपछि यसको अर्थ सहज रूपमा खुल्नेछ। पोस्टरका सबै प्रतीक कथासँग जोडिएर आउनेछन् र त्यही बेला यसको औचित्य पुष्टि हुनेछ।"
उनका अनुसार 'पञ्चमी' एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हो। चलचित्र मौलिक कथा नभई एउटा उपन्यासमा आधारित भए पनि कुन लेखकको कुन कृतिलाई आधार बनाइएको हो भन्ने विषय अहिले खुलाइएको छैन।
निर्माण पक्षले हाल कलाकार, पटकथा लेखक तथा प्राविधिक टोलीबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। आगामी दिनमा क्रमशः सबै विवरण सार्वजनिक गरिने र छिट्टै चलचित्रको पहिलो झलक पनि सार्वजनिक गर्ने तयारी रहेको निर्देशक बस्नेतले बताएका छन्।
रहस्यमयी थिम पोस्टर, गोप्य राखिएको कथावस्तु र पहिलो निर्देशकीय प्रयासमै चुनौतीपूर्ण साइकोलोजिकल मिस्ट्री थ्रिलर रोजेका कारण 'पञ्चमी'ले नेपाली चलचित्र बजारमा सुरुदेखि नै उत्सुकता बढाएको छ। पोस्टरमा देखिएका त्रिशूल, नाग, अर्धचन्द्र, पाँचवटा घेरा र पुरानो टाइपराइटरजस्ता प्रतीकहरूले कथामा कस्तो भूमिका खेल्छन् भन्ने प्रश्नको उत्तर भने चलचित्र प्रदर्शनपछि मात्र खुल्ने देखिन्छ।