‘नरसिंहाः अवतार’को नयाँ गीत सार्वजनिक, बुकिङ खुल्ला

फिल्मी फण्डा। शुक्रबारदेखि रिलिज हुने नेपाली फिल्म ‘नरसिंहाः अवतार’को चर्चा चुलिँदै गएको छ। रिलिज मिति नजिकिँदै गर्दा बुकिङ खुलिसकेको छ भने निर्माण पक्षले नयाँ रोमान्टिक गीत ‘तिम्रो मात्र हुने मन छ’ सार्वजनिक गरेको छ।

अर्जुन पोखरेलको शब्द र संगीतमा बनेको यो गीतमा सैराज खाती र मनिषा सुनवारको स्वर छ। गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। माइकल चन्दको कोरियोग्राफी र राजु थापाको डीओपी रहेको यो गीतले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’मा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारको अभिनय छ।

फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा र राजु तामाङको एक्सन रहेको यो फिल्म प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा आधारित छ।

फिल्मले दर्शकलाई भावनात्मक र रोमाञ्चक अनुभव प्रदान गर्ने निर्माण पक्षको दाबी छ। रिलिजको पर्खाइमा रहेका दर्शकका लागि यो गीत र बुकिङ खुला भएको खबरले उत्साह थपिएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech