हिमाल, प्रेम र सम्झनाको कथा : ‘जलाकी’को पहिलो झलकले बढायो कौतुहलता

फिल्मी फण्डा ।  ‘खुस्मा’बाट दर्शकको मन जितेका निर्देशक अशोक थापा मगर आफ्नो दोस्रो सिनेमा ‘जलाकी’ लिएर फर्किएका छन् । उनको नयाँ सिनेमाको टिजर ‘पहिलो झलक’ सार्वजनिक भएसँगै प्रदर्शनअघि नै ‘जलाकी’लाई लिएर दर्शकमाझ कौतुहलता बढेको छ ।

निर्माण टिमले युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूलगायत कलाकारलाई प्रस्तुत गरिएको छ । टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । उनको बाल्यकालदेखि कलेज जीवन, सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनासम्मका भावनात्मक पाटोलाई छोटकरीमा देखाइएको छ ।

सार्वजनिक झलकमा प्रेम र भावनासँगै हिमाल, पहाड, हरियाली जंगल र नदीको मनोरम दृश्यले पनि सिनेमाको वातावरणलाई आकर्षक बनाएको छ । यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले बनाएको चर्चापछि आएको टिजरले सिनेमाको कथाप्रति थप उत्सुकता जगाएको देखिन्छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुंगाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो । निर्देशक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई कथाको केन्द्रमा राख्दै मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, सम्बन्ध र भावनालाई सिनेमामा प्रस्तुत गरेका छन् ।

सोनम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्कीलगायत कलाकारको अभिनय रहेको छ । मिस सिक्किमसमेत रहेकी साहारा हाङमा लिम्बूले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी छन् । विशेष भूमिकामा क्याप्टेन विजय लामा र बालकलाकारमा मुन्जन थापा मगरलगायत देखिनेछन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।

निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । सो सिनेमाको ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा चर्चित बनेको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगरले ‘जलाकी’मार्फत फेरि दर्शकलाई फरक कथा र सांस्कृतिक परिवेशमा जोड्ने प्रयास गरेका छन् ।

‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech