नारायण रायमाझीले घोषणा गरे नयाँ सिनेमा ‘बसन्ती’

फिल्मी फण्डा ।  निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’ निर्माण गर्ने घोषणा गरेका छन् । शुक्रबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको औपचारिक घोषणा गरिएको हो ।

२०५७ सालमा नीर शाहले निर्देशन गरेको ‘बसन्ती’पछि सोही नाममा रायमाझीले नयाँ सिनेमा बनाउन लागेका हुन् । डायमण्ड शमशेर राणाको उपन्यासमा आधारित पुरानो ‘बसन्ती’सँग नयाँ सिनेमाको कथा भने फरक रहने निर्माण पक्षले जनाएको छ ।

‘बसन्ती’ रायमाझीको चौथो निर्देशकीय सिनेमा हो । यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए । सिनेमाको काठमाडौं सेड्युल शनिबारदेखि सुरु हुनेछ भने काठमाडौंसँगै पाल्पा, जनकपुर, बुटवल र भारतका विभिन्न स्थानमा छायांकन गरिनेछ ।

सिनेमामा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् । सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, प्रशंसा शिवाकोटीलगायत कलाकारको पनि अभिनय रहनेछ ।

रिमा फिल्मस् प्रा.लिको प्रस्तुतिमा बन्ने सिनेमामा नारायण रायमाझीको लगानी रहनेछ । कथा रमेश बिजिले लेखेका हुन् भने छायांकन शिव ढकालले गर्नेछन् । ‘बसन्ती’को कथा तथा प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech