‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री

फिल्मी फण्डा।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन्।

निर्माण टिमले बुधबार हरिवंशको भूमिकामा अरुणलाई अनुबन्ध गरिएको जानकारी दिएको हो। हाल प्रदर्शनरत फिल्म ‘गौँथली’का मुख्य कलाकार रहेका अरुणले यही टिमले निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि मुख्य भूमिका निर्वाह गर्नेछन्।

निर्देशक मिलन चाम्सका अनुसार ‘म मदनकृष्ण’सँगै हरिवंश आचार्यको जीवनमा आधारित बायोपिकका लागि पनि अरुणलाई एकैपटक अनुबन्ध गरिएको हो।

‘हामीले हरिवंश दाइको भूमिकाका लागि सशक्त अभिनय गर्न सक्ने कलाकारको खोजी गर्ने क्रममा अरुणसम्म पुगेका हौँ। उहाँलाई यो भूमिकामा दर्शकले रुचाउनुहुने विश्वास छ,’ चाम्सले भने।

फिल्मले मदनकृष्ण श्रेष्ठको जीवनका संघर्ष, उतारचढाव र कलाकारिताको यात्रालाई प्रस्तुत गर्नेछ। यसमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन्।

फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायतका विषय समेटिने जनाइएको छ। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन् भने निर्देशन मिलन चाम्सले गर्नेछन्। भदौको दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ।

निर्माण टिमका अनुसार फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। नेपालभर फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech