नेपालका देव जैसवालले जिते ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ को ग्रान्ड विनर उपाधि

काठमाडौं । नेपालका बाल प्रतिनिधि देव जैसवालले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा आयोजित अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ को बालक विधामा ‘ग्रान्ड विनर’ उपाधि जितेका छन् ।

विश्वका विभिन्न देशबाट सहभागी भएका उत्कृष्ट प्रतिस्पर्धीबीच सम्पन्न अन्तिम प्रतिस्पर्धामा देवले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता तथा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनप्रतिको समर्पण प्रभावकारी रूपमा प्रस्तुत गर्दै निर्णायकहरूको मन जितेका थिए ।

प्रतियोगिताका क्रममा उनले नेपालको मौलिक संस्कृति, परम्परा, सभ्यता, राष्ट्रिय पहिचान तथा प्राकृतिक सम्पदालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए। साथै, नेपाली पहिरन, संस्कार, भाषा तथा पर्यटनका सम्भावनाबारे आफ्नो मन्तव्यसमेत राखेका थिए ।

देव म्याजेस्टिक ग्रुप नेपालमार्फत उक्त प्रतियोगितामा सहभागी हुन मलेसिया गएका हुन्। प्रतियोगिताका लागि आवश्यक तयारी, समन्वय तथा व्यवस्थापनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech