फिल्मी फण्डा । आगामी कात्तिक ६ गते (भाइटीका) मा रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’ मा फेरि एकपटक अभिनेता विजय बराल को महत्त्वपूर्ण अभिनय देख्न पाइने भएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ मा पूर्णेको चरित्रबाट आफूलाई मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो फिल्ममा योङ एन्ड इनर्जेटिक पात्रका रूपमा देखिनेछन् । उनले फिल्ममा ‘बले’ को भूमिका निभाएका छन्, जसले समाजमा ‘वरिष्ठ’ को छवि बनाएर राज्य प्रशासनसम्म कब्जा गरेका दयाहाङ राई को पात्रलाई चुनौती दिन्छन् ।
फिल्ममा बलेको चरित्र धर्म, अभिभावकप्रतिको दायित्व र युवतीसँगको सम्बन्धसँगै खोलामा रहेको वरिष्ठको एकाधिकार तोड्ने प्रयासमा केन्द्रित छ । बले, बलराम बन्छन् वा बले नै रहन्छन् भन्ने द्वन्द्वले फिल्मलाई रोचक बनाएको निर्माण पक्षको भनाइ छ ।
विजय बरालले आफ्नो नयाँ भूमिकाबारे भनेका छन्, “जसरी पूर्णेको क्यारेक्टर हिट भयो र दर्शकले रुचाइदिनुभयो । दर्शकको दिमागमा बसेको छविलाई भत्काएर अर्को सेट गर्न सहज भने छैन, तर कहिलेकाहीँ सिम्पल कुरा नै हिट हुन्छ ।”
सुरेन्द्र पौडेल को निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई र विजय बरालको टकराब मुख्य आकर्षण हो । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको यसमा सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडी ले लेखेका छन् । मनकृष्ण महर्जन को छायांकन रहेको फिल्मको वितरण काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले गर्नेछ ।