फिल्मी फण्डा । कर्पोरेट क्षेत्रबाट मनोरञ्जन उद्योगमा प्रवेश गरेका धिरज अग्रवालले नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माणको घोषणा गरेका छन्। आइतबार आयोजित एक कार्यक्रमबीच टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरबाट निर्माण हुने यस फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटीले पहिलो पटक पर्दा बाँड्दैछन्।
फिल्मको कथा र निर्देशनको जिम्मेवारी ऋत बोहोराले लिएका छन्। ‘कस्तुरी’ सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो।
निर्माता अग्रवाल, जो यसअघि टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसायमा सक्रिय थिए, अब ठूलो लगानीसहित फिल्म क्षेत्रमा आएका छन्। सह–निर्माताको रूपमा अञ्जली चौधरीले साथ दिएकी छिन्।
निर्देशक बोहोराका अनुसार फिल्मले रहस्य, डर र उत्सुकताले भरिएको मनोवैज्ञानिक कथा प्रस्तुत गर्नेछ। उनले फिल्ममा हत्या, अपहरण र षड्यन्त्रजस्ता संवेदनशील विषयहरू समेटिने बताएका छन्।
फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटीसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्माको पनि अभिनय रहनेछ। पटकथा लेखन ब्रजेश खनालले गरेका हुन्।
प्राविधिक पक्षमा आलोक शुक्लाले छायांकन गर्नेछन् भने ललित बिष्ट प्रमुख सह-निर्देशकको रूपमा रहनेछन्। फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहनेछ र गीत लेखन युवराज काफ्लेले गर्नेछन्। निर्माण व्यवस्थापन दिलीप पन्तको जिम्मामा छ।
निर्माण टिमका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिर महिनादेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ। फिल्मको डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापनको योजना पनि छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।