नेपालमा पहिलो पटक हरर चलचित्र महोत्सव हुँदै: १५ देशका २५ फिल्म छनौट

फिल्मी फण्डा। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमा पहिलो पटक 'काठमाडौं हरर चलचित्र महोत्सव' (Kathmandu Horror Film Festival - KHFF) आयोजना हुने भएको छ। आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४-१६) सम्म रूसी घर, काठमाडौंमा हुने यो महोत्सव विशेषतः हेल्लोविन डेको अवसर पारेर सुरु गर्न लागिएको हो।

यस महोत्सवका लागि विश्वभरका विभिन्न देशहरूबाट प्राप्त १०० भन्दा बढी चलचित्रहरूमध्ये १५ देशका जम्मा २५ चलचित्रहरू प्रदर्शनका लागि छनोट भएका छन्। यी चलचित्रहरूमा लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तु समेटिएका छन्। चलचित्रहरूको छनोट FilmFreeway प्लेटफर्म मार्फत गरिएको विश्वव्यापी आह्वानपछि गुणस्तर, विविधता र पारदर्शिताका आधारमा गरिएको हो।

महोत्सवमा छनोट भएका चलचित्रहरूलाई उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिनेछ।

निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय विशेषज्ञ:

यस महोत्सवको निर्णायक मण्डल (Jury Panel) मा नेपालसहित विभिन्न देशका चलचित्र विशेषज्ञहरू रहेका छन्। निर्णायकहरूमा:

  1. श्री राजभाइ सुवाल – छायांकन निर्देशक/प्रसिद्ध फोटोग्राफर, नेपाल

  2. श्री होसाम फाह्मी – चलचित्र समीक्षक, जर्मनी

  3. सुश्री एलेक्जान्ड्रा एनबर्ग – चलचित्र समीक्षक, स्विडेन/लाट्भिया

  4. सुश्री यास्मिन बुछफार – चलचित्र समीक्षक, मोरोक्को

आयोजकका अनुसार यस महोत्सवको मुख्य उद्देश्य नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु हो। हरर विधाका चलचित्रको निर्माण कम हुने नेपाली चलचित्र क्षेत्रमा यस महोत्सवले नयाँ फिल्म संस्कृतिलाई समृद्ध बनाउँदै युवा दर्शकलाई आकर्षित गर्ने र चलचित्र बजार बिस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो ऐतिहासिक महोत्सव सफल बनाउन आयोजकले सम्पूर्ण सञ्चारकर्मीहरू र सञ्चार माध्यमहरूलाई सकारात्मक साथ र समर्थनका लागि हार्दिक अनुरोध गरेको छ। यसले विशेष गरी युवा दर्शकहरूका लागि एक नयाँ र रोमाञ्चक अनुभव प्रदान गर्ने अपेक्षा छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech