फिल्मी फण्डा। कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘मैझारो’को प्रचार–प्रसार पूर्वका विभिन्न सहरमा धमाधम भइरहेका छन्। निर्देशक तथा निर्माता विल्सन विक्रम राई (तक्मे बुढा) नेतृत्वको टोलीले सांगीतिक कार्यक्रममार्फत दर्शकमाझ फिल्मको चर्चा फैलाइरहेको छ।
हिजो बिहीबार धरानमा भव्य कन्सर्ट सम्पन्न भएको थियो, जहाँ हजारौं दर्शकको उपस्थितिले माहोल तातेको थियो। पूर्वका इ–रिक्सा र अटोलाई ‘मैझारो’का पोस्टर र फ्लेक्सले भरिएको देखिन्छ। आज (असोज २५ गते) झापाको बिर्तामोडस्थित मुक्तीचोकमा अर्को सांगीतिक कार्यक्रम हुँदैछ।
‘फिल्मलाई दर्शकमाझ पुर्याउन नयाँ तरिकाले प्रचार गर्दैछौं,’ निर्देशक राईले भने, ‘मनोरञ्जनका साथ फिल्म हलमा लाग्न लागेको जानकारी दिन यी कार्यक्रम आयोजना गरेका हौं।’
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले लगायतका कलाकारको अभिनय छ। फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ भने स्वर राजेशपायल राई, मेलिना राई, झुमा लिम्बू र अस्मिता अधिकारीले दिएका छन्।
सौरभ लामाको छायांकन रहेको ‘मैझारो’लाई आरआर फिल्म्सले वितरण गर्नेछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। निर्देशक राईको यो डेब्यु निर्देशन हो।