फिल्मी फण्डा। आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। करिब चार मिनेट लामो ट्रेलरले फिल्मको उच्च प्राविधिक मेकिङ स्तरलाई स्पष्ट पारेको छ।
ट्रेलरले कथाको मुख्य सार खिचेको छ। कथा अनुसार, नायक जेरी (अनमोल केसी) ले बाल्यकालदेखि नै हरेक खेलमा आफूलाई हराउँदै आएका पितालाई चुनौती दिँदै सगरमाथा आरोहणको सङ्कल्प बोकेको देखाइएको छ। आरोहणका क्रममा उनले भोग्ने कठिनाइ, जोखिम र चुनौतीसँगै अभिनेत्री आँचल शर्मा र जसिता गुरुङसँगको प्रेम सम्बन्धमा आउने उतार–चढावलाई ट्रेलरमा सशक्त ढङ्गले चित्रण गरिएको छ।
फिल्ममा मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ बाहेक भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गीलगायतका अनुभवी कलाकारको पनि महत्वपूर्ण भूमिका देखिन्छ।
सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मलाई अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले निर्माण गरेका हुन्। यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लुज’ जस्ता फिल्म निर्माण गरिसकेका न्यौपानेलाई यस फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सहकार्य गरेका छन्। कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ रहेका छन्।
फिल्ममा दुलिप रेग्मीको आकर्षक छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एस.डी. योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको सङ्गीत, विस्वास तिम्सिनाको पटकथा लेखन, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ।