फिल्मी फण्डा। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो ।
अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको बिषयमा कुराकानी समेत भएको थियो ।
सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए ।फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरुले तारिफ गरेको निर्माणपक्षले बताएको छ ।
फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् ।
यो फिल्मको बुकिङ समेत खुलिसकेको छ । यो फिल्मले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझैपनि केही हलमा शोज खुल्न बाँकी नै छ ।
फिल्मलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । जसकाकारण, दर्शक फिल्मप्रति आशावादी र प्रतिक्षामा रहेको वुझ्न सकिन्छ । फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ ।
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ।
रामशरण पाठकले लेखेको यो फिल्मको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ ।