फिल्मी फण्डा । अभिनेता हरिवंश आचार्यले फिल्म हरिबहादुरको जुत्ता लाई नेपालको वर्तमान राजनीतिक परिस्थिति, विकृति र कुशासनविरुद्धको वैचारिक तथा कलात्मक युद्धका रूपमा परिभाषित गरेका छन्। असोज १३ गते फूलपातीदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मबारे कुरा गर्दै उनले यस्तो बताएका हुन्।
हालै सम्पन्न जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य र सुशासनको नारा बोकेर सुरु भएको थियो। आन्दोलनमा ७३ जनाले ज्यान गुमाएका थिए भने रगतले लतपतिएको जुत्ताको प्रतीक त्यस आन्दोलनकै पहिचान बनेको थियो।
युवाले सुशासनको सपना बोकेझैँ, हरिबहादुरको जुत्ता ले पनि राजनीतिक बेथिति र विसंगतिको विरुद्ध आवाज उठाएको छ। रगतले भिजेको जुत्तालाई आशा र परिवर्तनको प्रतीकसँग जोड्दै फिल्मले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय हुन प्रेरित गर्ने सन्देश दिएको छ। यही कारण फिल्मले युवापुस्तालाई परिवर्तनको तयारी गर्न पनि उत्प्रेरित गरेको छ।
चलचित्रका प्रमुख पात्र आचार्यले आन्दोलन र फिल्मबीचको मेल संयोग मात्र भएको प्रष्ट पारेका छन्। “हामीले दुई वर्षअघि नै यस्तै बिद्रोह फिल्ममार्फत उठाउनुपर्छ भनेर तयारी थालेका थियौँ। सडकमा आएको माग र विसंगतिको विरुद्ध सडकमा भएको आन्दोलन जस्तै हलमा आएको हाम्रो आवाज पनि एउटै ध्येयका हुन्,” उनले भने।
जेनजी आन्दोलनले नयाँ पुस्तालाई राजनीतिको मूलधारमा आउन प्रेरित गरेझैँ, हरिबहादुरको जुत्ता ले पनि समान धारणा बोकेको जनाएका छन्।
हरिवंश आचार्यले लामो समयदेखि हरिबहादुर सिरियलमार्फत नेपाली समाजलाई हाँस्य र जनचेतना प्रस्तुत गर्दै आएका थिए। १६ बर्षपछी सोही लोकप्रिय पात्रलाई निर्देशक दिपेन्द्र के. खनालले चलचित्रका रूपमा पुनः प्रस्तुत गरेका हुन्। फिल्ममा आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसीलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई सरोज ओली र मोहित बंष आचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको कथा अभिनेता हरिवंश आचार्य आफैले लेखेका हुन् ।