भष्मे डन : नेपाली समाजको मौलिक कथा (फिल्म समिक्षा)

फिल्मी फण्डा । नेपाली फिल्ममा नयाँ प्रयोगको कुरा गर्नुपर्दा निर्देशक दीपेन्द्र के खनाल अग्रभागमा आउने नाम हो । ‘द युगदेखि युगसम्म’बाट निर्देशकीय क्षमता प्रस्तुत गरेका निर्देशक खनालले ‘पशुपतिप्रसाद २: भष्मे डन’सम्म आईपुग्दा अनुभवि र व्यवसायिक निर्देशकको छबि बनाएका छन् । निर्देशक खनालका प्राय सबै फिल्ममा नयाँ प्रयोग देख्न सकिन्छ । प्रविधि, पात्र होस् या प्रस्तुती । दीपेन्द्रले यी सबै विषयमा नयाँ प्रयोग गर्ने गरेका छन् । ‘चपली हाइट’ मा उनले प्रस्तुतीमा नयाँ प्रयोग गरे ।

‘झोले’मा उनले पात्र र प्रस्तुतीमा नयाँ प्रयोग गरे । ‘भिजिलान्ते’मा उनले प्रविधिको अर्को प्रयोग गरे । ‘पशुपतिप्रसाद’मा उनले भुईमान्छेको कथ्य शैलीलाई नयाँ प्रयोग गरे । जसले निर्देशक खनाललाई अब्बल निर्देशक बनायो । ‘आमा’ र ‘चिसो मान्छे’मा उनले संवेदना र सामाजिक प्रवृत्तीको फरक प्रस्तुतीको प्रयोग गरे । ‘पशुपति प्रसाद २: भष्मे डन’ले उनलाई व्यवसायीक निर्देशकको रुपमा पूर्ण स्थापित गर्नेछ । त्यति मात्र हैन मौलीक कथालाई जीवन्त प्रस्तुतीमा उतार्नु प्रशंसा योग्य काम हो । त्यसमा पनि उनले ‘भष्मे डन’मा सिंक साउण्ड अर्थात साउण्ड रियालीटिमा नयाँ प्रयोग गरेका छन् ।

अब कुरा गरौं फिल्म ‘पशुपतिप्रसाद २:भष्मे डन’को । पशुपतिप्रसाद अर्थात खगेन्द्र लामिछानेको अन्त्यपछि भष्मे डन अर्थात विपिन कार्कीले आफ्नो जीवनमा गरेको रियालाईजमा ‘पशुपतिप्रसाद’ सकिएपछिको सिक्वेलको रुपमा ‘पशुपतिप्रसाद २: भष्मे डन’ निरन्तर अघि बढ्छ । उही पात्र भष्मे डन(विपिन कार्की) को उद्देश्य र संकल्पको बिचमा कालिप्रसाद (सौगात मल्ल) र मैना माता (स्वस्तिमा खड्का) को प्रवेश हुन्छ । तीन पात्रको सम्बन्ध, बाध्यता र संघर्षमा भष्मे डन केन्द्रीत छ । 

आफुलाई सुध्रिएको बताउने भष्मे डनले कोरोना कहरमा लास पोलेर सुनको दाँत राखेका छन् । पशुपात क्षेत्रमा आफुलाई स्थापित गराउन लागी परेका भष्मे डनले बा पनि पाएका छन् । मित बा (प्रकाश घिमिरे) र भष्मे डन बाउ छोराको रुपमा सम्बन्ध स्थापित गरि फिल्म अघि बढ्छ । पशुपात क्षेत्रमा दिगो रुमपा स्थापित भई काम गर्न ठेकेदारले भष्मे डनलाई पूर्ण विश्वास नगरेपछि नागरिकता ल्याउन भष्मेलाई भन्छन् । 

आफुलाई जन्म दिएर लावारिस बनाउने बाउ आमालाई एक पटक हेर्न इच्छा राखेका भष्मेले नागरिकताको लक्ष्य तय गर्छ । त्यसको लागि उनलाई कम्तिमा १० लाखको आवश्यक पर्छ । यसको कारण बुझ्न भने फिल्म हेर्नुपर्ने हुन्छ । पशुपात क्षेत्रमा विभिन्न कामहरु गर्दै १० लाख जम्मा गर्ने भष्मेको लक्ष्यमा तगारो बनेर आउँछ नागा बाबा अर्थात कालिप्रसाद (सौगात मल्ल) । 

गाउँबाट सपना बोकेर काठमाडौं आएकी मैना (स्वस्तिमा खड्का) आफ्नो अस्मिता लुटिएपछि घर फर्किन सक्दिनन् । अस्मिता माथी लुछाचुडीको खेलमा उनलाई काम गर्न मन पनि लाग्दैनन् । अन्तमा उनी जीवनको आश बोकेर दुर्गा माताको वेशमा पशुपात क्षेत्रमा प्रवेश गर्छिन् ।

पशुपति मन्दिर, दर्शन गर्नेको भिड र घाट मात्र हैन फिल्मले घाट र जीवनसँगको अर्थ र सम्बन्धलाई सुक्ष्म रुपले प्रस्तुत गरेको छ । घाट वरपका यथार्थ र जीवनको आशमा पशुपात प्रवेश गर्ने पात्रहरुलाई समेत निर्देशकले फिल्म मार्फत जीवन्त रुपमा प्रस्तुत गरेका छन् । 

कालिप्रसाद मधेशका पात्र हुन् । हाम्रै समाजको विकृतीमा पिल्सिएका कालिप्रसादको मृत्यु भइसकेकी छोरीको लास अस्पतालमा बन्धक छ । त्यसलाई निकालेर अन्तिम संस्कार गर्ने कालिप्रसादको लक्ष्य हुन्छ । त्यसको लागि कालिप्रसादलाई पनि १५ लाख आवश्यक पर्छ । 

जीवनमा सपनाहरुको पनि अन्त्य भएपछि मानिस भगवानको शरणमा पुग्छन् । अन्तत कालिप्रसाद पनि पैसा कमाउने आशका साथ पशुपात क्षेत्र पुग्छन् । भष्मे डनको पैसा कमाउने लक्ष्यमा बाधा बनेर देखिएका कालिप्रसाद र भष्मेमा दुश्मनी शुरु हुन्छ । आँफैले आफुलाई संकल्प गरेको ‘व्रत’का कारण भष्मे डन द्धन्द्ध, हत्या र हिंसा गर्दैनन् । उनका सहयोगीहरुबाट कालिप्रसादलाई हटाउने उनको योजना अन्तत फेल हुन्छ र कालिप्रसादले उल्टो भष्मेलाई आफ्नो लक्ष्यबाट पन्छाउँछन् । सस्पेन र रोमान्चक तरिकाले यो परिघटनालाई निर्देशकले प्रस्तुत गरेका छन् । यो बुझ्नको लागि टिकट काटेर भष्मे डन हेर्नै पर्ने हुन्छ ।

मध्यन्तर पछि कालिप्रसादले मारेर फालिएको भष्मे डनलाई डम्पिन साइडबाट ‘पशुपतिप्रसाद’मा हनुमान बनेका बैकुण्ठ (रविन्द्र सिंह बाँनिया) ले बचाउँछ । शान्ति र आदर्शको प्रवचन दिएर हिंसाको बाटो त्याग्न बैकुण्ठले भष्मे डनलाई प्रवचन दिएपछि उनी संसारिक मोह त्याग्नुपर्छ भने सोचका साथ पशुपात क्षेत्र फर्किन्छन् । माताको शरणमा पुगेका भष्मेलाई माताकै वेशमा माताले स्विकार्न सक्दैनन् । माता ढोका बन्द गरिएको कोठा भित्र र भष्मे कोठा बाहिरबाट गरिएको वार्तालापले प्रेमको सुमधुर सम्बन्धलाई बलियोसँग कसेँका छन् । माया प्रेमको नाममा निर्देशकले हिरो हिरोनीलाई जबरजस्त नचाएका छैनन् । न त जबरजस्त प्रेम प्रस्ताव र सिन खर्च गरेका छन् । सिम्बोलिक रुपमा मनोभावनात्मक प्रस्तुतीले मैना र भष्मेमा गहिरो प्रेम दर्शाएका छन् ।

भष्मेले आफ्नो अवस्था मित बालाई बताएपछि मित बा दोहोरो भुमिकामा देखिन्छन् । हनुमानको पहिरनमा मित बा प्रस्तुत हुन्छन् । कालिप्रसादको अन्याय विरुद्ध उनी खनिन्छन् । तर त्यो धेरै टिक्दैन, उनी माथी नै कालिप्रसादको हमला शुरु हुन्छ ।  

भष्मेले कालिप्रसादलाई शान्तिपूर्ण वार्ताको अनुरोध गर्छ । शान्तिपूर्ण वार्तालाई कालिप्रसादले चूनौती दिँदै द्धन्द्धमा आउन भष्मेलाई भन्छ । अस्पताल पुगेर शिलाजीत बेच्ने चन्द्र बहादुरलाई आफ्नो रगत दिने भष्मे लगतै पशुपात क्षेत्र पुगेर शिवसँग आफ्नो व्रत फिर्ता माग्दै द्धन्द्धमा जाने निर्णय गर्छ । माताले भष्मेलाई मैना भनेर सम्बोधन गर्न अनुरोध गर्छिन् । भष्मेले पनि माताले तपाई भनेको सुहाउँदैन, तिमी भनेर आफुलाई सम्बोधन गर्न मातालाई भन्छन् । भोली विहान माता हैन मैनाको रुपमा भेट्ने बाचाका साथ आएका भष्मे फार्किदैनन् । यता मित बा, शिलाजीत बेच्ने व्यक्ति र मैना भष्मेको पर्खाइमा रहन्छ । 
फिल्ममा कुनै पनि पात्र अनावश्यक लाग्दैनन् । यो फिल्मको राम्रो पक्ष हो । फिल्मको कथ्य संरचनाले प्रत्येक पात्रसँग सम्बध राखेको छ । सबै पात्रहरुलाई मूख्य रुपमा जोडिएका छन् । बागमतीमा चुम्बकले पैसा तान्ने पात्रलाई समेत फिल्मले अन्तमा समेत बाँधेका छन् । माताले एउटा संवाद बोलेकी छन्, एउटै मान्छे दुईटा हुँदो रहेछ । यो संवाद यतिकै फिल्ममा राखेका छैनन् । यसको अर्थ फिल्मको अन्तमा देखिने पशुपतिप्रसादसँग अनुहार मिल्ने व्यक्ति हुन् । यसो त ‘पशुपतिप्रसाद’मा पशुपतिप्रसादको बोल्न नसक्ने प्रेमिकाले ‘पशुपतिप्रसाद २ः भष्मे डन’ मा कोरेको पशुपतिप्रसादको चित्रले पनि उस्तै अनुहार मिल्ने व्यक्तिको संकेत दिएका छन् ।

आफ्नो अस्तित्वको स्थापितका लागि सानो कोठामा बस्ने भष्मे र मित बा, जीवनको आश बोकेर पशुपतिमा आएकी दुर्गा माता, कर्णलीबाट शिलाजित बेच्दै छोरा खोजिरहेका चन्द्रबहादुर, आफ्नो कर्तव्यबाट उन्मुख हुन लागेर निस्सासिएर पशुपति आएका कालिप्रसाद र समाजको विकृती परिवेशले आफु सकिएको परिवर्तित बैकुण्ठको मन, भावना र आँखाबाट यो फिल्मलाई नियाल्न सकिन्छ ।

फिल्मले भुईमान्छेहरुको कथा बोलेको छ । भष्मे जस्तो अवस्थामा रहेपनि आमा बुबाको अनुहार हेर्न चाहन्छ । नागरिकताको संघर्षले उनलाई शान्तिको बाटोसम्म पुराउँछ । भष्मेको शान्तिको बाटो नेपाली राजनीतिलाई चूनौती हो । भष्मे र कालिप्रसादको दुश्मनी र द्धन्द्ध नेपाली राजनीतिक परिवेशको आधार हो । दुर्गा माताको परिवेश समाजमा महिला माथी भइरहेको हिंसा, शोषण र विकृतीको प्रतिबिम्ब हो । शिलाजित बेच्ने चन्द्रबहादुर गरिबीले निम्त्याएका विवश पात्रहरु हुन् । आफ्नो अवस्था जस्तो भएपनि सन्तानको मायाले उनलाई दोहोर्याएर शहर ल्याएको छ । दोहोरो चरित्र देखाउने बैकुण्ठ समाजका विकृती र विसंगतीले जन्माउने विश्वासघाती पात्र हुन् । समग्रमा फिल्मले नेपाली समाजका सबै पात्रहरुको वर्णन गरेका छन् । ती पात्रहरुलाई टिपेर कलात्मक शैलीमा मार्मिक तरिकाले निर्देशकले फिल्म मार्फत प्रस्तुत गरेका छन् ।

‘पशुपतिप्रसाद २: भष्मे डन’मा जबरजस्त भनिने प्रेम, द्धन्द्ध र गीत समावेश छैन । न त सिमापारीको दुगन्र्ध भेटिन्छ । यो त नेपाली समाजको मौलिक कथा हो । सिक्वेलको रुपमा धेरै फिल्मले खास अर्थ र सम्बन्ध बोकेको हुँदैन । नाम सापट्टी लिएकै भरमा सिक्वेल भने हरुका लागि ‘पशुपतिप्रसाद २: भष्मे डन’ उदाहरण हो । भष्मेडनले कथा, कथ्य शैली, पात्र र परिवेशले ‘पशुपतिप्रसाद’सँग प्रगाढ सम्बन्ध राखेको छ । सिक्वेलको रुपमा ‘पशुपतिप्रसाद २: भष्मे डन’ पूर्ण चलचित्र बनेको छ । यसलाई ‘पुशपतिप्रसाद’को रुपमा हैन ‘भष्मे डन’को रुपमा प्रस्तुत गरिएको छ ।

‘भष्मे डन’को पटकथाको सुन्दरता बनेको द्धन्द्धात्मक पक्ष हो । द्धन्द्ध विना यो फिल्म अपुरो छ । द्धन्द्धको स्रोतको लागि अनावश्यक पात्र यसमा छैनन् । खगेन्द्र लामिछानेको पटकथा फिल्मको सुन्दर पक्ष हो । ब्याकराउण्ड स्कोरले फिल्मको कथा भन सहयोग गरेको छ । सिंक साउण्डले नेपाली फिल्मलाई नयाँ बाटो देखाएको छ । फिल्ममा साउण्ड निकै बलियो र रियालिटी सुनिएको छ । फिल्मको कथासँगै सिंक साउण्ड मिसिएको छ । सुन्दर तरिकाले खिचिएको फिल्ममा निरज कँडेलको काम तारिफ योग्य छ । फिल्ममा प्रकाशको काम पनि लोभलाग्दो छ । समग्रमा प्राविधिक पक्षमा फिल्म पूर्ण बलियो बनेको छ । 

पात्रहरुको अभिनय जीवन्त छ । प्रकाश घिमिरे र विपिन कार्कीको अभिनय सम्झना योग्य छ । स्वस्तिमा खड्का फरक रुपमा प्रस्तुत भएका छन् । रविन्द्र सिंह बाँनियाको अभिनय स्वभाविक र सरल छन् । प्राय फिल्ममा लाउड सुनिने सौगात मल्ल यसमा शान्त छन् । अन्तमा ‘पशुपतिप्रसाद २: भष्मे डन’ पूर्ण व्यवासायिक फिल्म हो । नेपाली फिल्मको बजार र दर्शकलाई तौलेर निर्देशकले यो फिल्म निर्देशन गरेका छन् । खोज्ने हो भने चन्द्रमामा पनि दाग भेटिन्छ भनेजस्तै फिल्ममा केही कमजोरीहरु पनि छन् । आलोचनाका लागि प्रशस्तै ठाउँ पनि छ । तर मनोरन्जनको कोणबाट फिल्म रमाईलो बनेको छ । कुनै फिल्म हेर्नको लागि मात्र हैन, साथी भाई र परिवारका लागि हेराउन/देखाउन का लागि पनि बनेको हुन्छ । त्यो 'पशुपतिप्रसाद २: भष्मे डन' हो ।

रेटिङ : ३/५
निर्देशक : दीपेन्द्र के खनाल
लेखक : खगेन्द्र लामिछाने
ब्यानर : टुकी आर्ट
निर्माता : खगेन्द्र लामिछाने
मूख्य कलाकार : विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का आदि

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech