दशैंमा ५ फिल्म भिड्न तयार, आफ्नो फिल्म भन्दा दशैंको छुट्टि माथि निर्माताको भरोसा

फिल्मी फण्डा । नेपाली फिल्महरूको लागि दशैं साच्चैनै महा पर्व हो, जति आम जनतामा दशैंको रौनक हुन्छ, त्यो भन्दा धेरै फिल्म निर्माताहरूमा हुन्छ । त्यसको कारण हो ब्यापार । दशैंको छुट्टीमा फिल्म रिलिज गर्दा आफ्नो लगानी सुरक्षित हुने अनुमानका कारण निर्माताहरू उक्त समयमा फिल्म रिलिज गर्न निकै तँछाडमछाड गर्छन् । 

यसवर्षको दशैंमा पनि नेपाली फिल्म निर्माताहरू त्यहि तँछाडमछाड गर्दै छन् । अहिले सम्म ४ नेपली फिल्मले दशैंमा आफ्नो फिल्मको रिलिज डेट तय गरिसकेका छन् । जसमा रोहित अधिकारी र दिपक दीपा टिमको “छ माया छपक्कै २”, बिराज भट्टको निर्माण तथा निर्देशन रहेको “१२ गाउँ २”, चन्द्र पन्तको निर्देशन र पल साहा एवं आकास अधिकारीको अभिनय रहने “आ बाट आमा २” रहेका छन् । ३ ब्लकबस्टर फिल्मको सिक्वेल एकै मितिमा प्रदर्शन हुनु बक्स अफिसको लागि सुखद् खबर पक्कै हैन । एकै डेटमा ३ ठुला सिक्वेल आउदा ति फिल्महरूको वास्तविक ब्यापारिक क्षमतामा नकारात्मक असर पर्ने सम्भावना रहन्छ । तर पनि तिनै निर्माताहरू दशैंको डेट छाड्न तयार देखिँदैनन् ।

उता भुवन केसी निर्माता तथा निर्देशक रहेको बाटुलो जुन पनि अब दशैंमा आउने पक्का भएको छ । दशैंमा फिल्म रिलिज गर्न भुवनले पुरानो वितरक नै हटाएर अर्को बितरक लाई जिम्मा लगाइसकेका छन् । निर्देशक भुवन र वितरक दुबैलाई अनमोलको स्टारडम माथि पुर्ण विश्वास रहेको बुझ्न सकिन्छ । 

यसरी हेर्दा आउने दशैंमा ४ ठुला फिल्म जुध्ने लगभग पक्का भैसकेको छ । त्यसैमाथि बिराज बिष्ट निर्माता रहेको फिल्म महाराजधिराज पनि उक्त मितिमै आउने सम्भावना रहेको छ । तर यस अघि पाँच पाण्डव र झिँगे दाउ २ ले पनि दशैंको भीडभाडबाट आफ्नो फिल्म हटाएको कारण महाराजधिराज पनि नहट्ला भन्न सकिदैन । तर बाँकि ४ फिल्म भने दशैँबाट हट्ने मनस्थितिमा देखिँदैनन् । 

जे होस्, नेपाली निर्माताहरूलाई आफ्नो फिल्म भन्दा  दशैंको छुट्टि माथि पुर्ण विश्वास रहेको देखिन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech