हिमालय टिभीमा राजेश हमालको शो आजदेखि साप्ताहिक प्रसारण

फिल्मी फण्डा। अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली सिजन २’ आज (बुधबार)देखि प्रसारण हुने भएको छ । कार्यक्रम साप्ताहिक रूपमा साँझ ८ बजेर ३० मिनेटमा हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

 

कार्यक्रमलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’मार्फत पनि हेर्न सकिने जनाइएको छ ।

 

कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीसँग उनीहरूको कर्मथलोमै पुगेर साक्षात्कार गर्नेछन् । दोस्रो सिजन अस्ट्रेलिया केन्द्रित रहनेछ । अस्ट्रेलियाका विभिन्न सहरमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीको कथा कार्यक्रममा समेटिने जनाइएको छ ।

 

मुभ मिडिया प्रा.लि.ले निर्माण गरेको कार्यक्रम अस्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायांकन गरिएको हो । कार्यकारी निर्माता विवेक रेग्मीका अनुसार पहिलो सिजनजस्तै दोस्रो सिजन पनि १३ भागको हुनेछ ।

 

रेग्मीले कार्यक्रममा समेटिएका कथाहरू संसारभर रहेका नेपालीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन् ।

 

कार्यक्रमको पहिलो सिजन गत वर्ष युरोपबाट सुरु गरिएको थियो । निर्माण पक्षका अनुसार अब कार्यक्रमले विश्वभर छरिएका नेपालीको संघर्ष र सफलताको कथा क्रमशः समेट्दै जानेछ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech