काठमाडौं । बेलायतमा रहेका नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। एल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ।
सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा गायिका मेलिना राई, ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का उपविजेता रोशन राई, गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा अभिनेत्री रजनी गुरुङलगायत कलाकारको प्रस्तुति रहनेछ।
विशेषगरी ‘द भ्वाइस अफ नेपाल’मा कोचका रूपमा रहेकी मेलिना राई र सोही कार्यक्रममा प्रतियोगीका रूपमा सहभागी रोशन राई एउटै मञ्चमा प्रस्तुत हुने भएकाले कार्यक्रमको मुख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ।
कार्यक्रम सुशील नेपालले सञ्चालन गर्नेछन्। नेपालबाट सहभागी हुने कलाकारको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि कार्यक्रमका आयोजकमा छन्।
‘सुम्निमा साँझ’लाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी तथा रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने आयोजकको प्रतिबद्धता छ।
नेपाली संगीत, कला र संस्कृतिलाई बेलायतमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले बेलायतमा रहेका नेपाली दर्शक–श्रोतामाझ विशेष सांगीतिक वातावरण सिर्जना गर्ने आयोजकको अपेक्षा छ।