काठमाडौं । आगामी बडादशैँ अर्थात् असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’को अन्तिम चरणको छायांकन हङकङमा सुरु भएको छ। बाँकी महत्वपूर्ण दृश्यको छायांकनका लागि मुख्य अभिनेता पल शाह, अभिनेत्री रिश्ता गुरुङ, निर्देशक चन्द्र पन्तसहितको निर्माण तथा प्राविधिक टोली हङकङ पुगेको हो।
हङकङमा हुने छायांकनको व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ। निर्माण पक्षका अनुसार हङकङका विभिन्न रमणीय तथा व्यस्त स्थानमा फिल्मका महत्वपूर्ण दृश्य खिचिनेछन्।
नेपालमा अधिकांश पारिवारिक तथा भावनात्मक दृश्यको छायांकन सम्पन्न भएपछि कथाको मागअनुसार प्रवासी परिवेश र परदेशी जीवनको यथार्थलाई पर्दामा उतार्न हङकङको सेड्युल तय गरिएको हो।
निर्देशक चन्द्र पन्तका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङसँग सम्बन्धित केही विशेष ड्रामेटिक दृश्यको छायांकन हुनेछ। उनका अनुसार चाडपर्वका बेला गाउँमा आमाले गर्ने पर्खाइ र सात समुद्रपारि परदेशमा सन्तानले भोग्ने बाध्यताबीचको भावनात्मक सम्बन्ध फिल्मको मुख्य आधार हो।
हङकङको अन्तिम सेड्युलले कथाको प्रवासी आयामलाई थप प्रामाणिक र भव्य बनाउने निर्देशक पन्तले बताएका छन्। छायांकन सकिएलगत्तै निर्माण टोली नेपाल फर्किएर पोस्ट–प्रोडक्सनको बाँकी काममा जुट्नेछ।
केही दिनअघि सार्वजनिक फिल्मको आधिकारिक टिजरले तीन दिनमै ४२ लाखभन्दा बढी भ्युज पाएको निर्माण पक्षको दाबी छ। यस्तै, मंगलबार सार्वजनिक पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ले पनि युट्युब र टिकटकमा चर्चा पाइरहेको जनाइएको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा पल शाह र रिश्ता गुरुङसँगै विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको अभिनय रहेको छ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको फिल्ममा करण सिंह कार्यकारी निर्माता छन्। आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ।
हङकङको सेड्युल पूरा गरेसँगै छायांकन सम्पन्न हुने फिल्म २०८३ असोज ३० गते बडादशैँको अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।