दर्शक बढाउँदै ‘बाः एक योद्धा’, हलले बढाए शो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको साथ पाउन थालेको छ। प्रदर्शनका सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको फिल्ममा मंगलबारदेखि भने दर्शकको चाप बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ।

मंगलबारदेखि सुरु भएको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटको प्रभावसँगै फिल्मका अधिकांश शोमा दर्शकको उपस्थिति बढेको वितरकको भनाइ छ। मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको फिल्मका थुप्रै शो दिनभर नै हाउसफुल भएको जनाइएको छ।

बुधबार फिल्मको शो संख्या थप बढाइएको छ। वितरकका अनुसार देशभर फिल्मले १०० भन्दा बढी शो पाएको छ। दर्शकको माग बढ्दै गएपछि विभिन्न हलले थप शोसमेत थपिरहेका छन्। काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म फिल्मप्रति दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ।

फिल्मप्रति दर्शकबाट प्राप्त प्रतिक्रियामा भने भावनात्मक पक्ष प्रमुख देखिएको छ। फिल्म हेरेका दर्शकले ‘बाः एक योद्धा’ले आफूलाई भावुक बनाएको, रुवाएको तथा आफ्नै परिवार, आफन्त वा छिमेकीले भोगेको जस्तो कथा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

विशेषगरी बाबुआमाले सन्तानका लागि गर्ने त्याग र संघर्षलाई फिल्मले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन्। कतिपय दर्शकले फिल्म हेरेपछि आफ्ना बाबुआमालाई सम्झिएको र आफ्ना सन्तानलाई समेत यस्तो फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्।

सन्तानले आफ्ना अधिकारका विषयमा आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश फिल्मले दिएको दर्शकको भनाइ छ। वृद्ध अवस्थामा पुगेका आमाबाबुले सन्तानबाट भोग्नुपर्ने पीडा तथा उनीहरूले जीवनभर गरेको त्यागलाई फिल्मले भावनात्मक रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दर्शकबाट आएको छ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै आएको फिल्मको कलाकार टोलीले मंगलबार बढेको दर्शकको भीडले आगामी प्रदर्शनप्रति आफूहरूलाई थप उत्साहित बनाएको बताएका छन्। कलाकारहरू हलमै पुगेर दर्शकसँग फिल्मबारे प्रतिक्रिया लिइरहेका छन्।

फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो।

वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech