काठमाडौँ । पल शाह र मलिका महत पहिलोपटक एकसाथ देखिएको फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक भएको छ। असोज ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसारलाई तीव्रता दिने क्रममा निर्माण टिमले डान्सिङ गीतको भिडियो सार्वजनिक गरेको हो।
सामूहिक विवाहको रमाइलो परिवेशमा तयार गरिएको गीतको भिडियोमा पल शाह, मलिका महत र आकाश श्रेष्ठसहित कलाकारहरूको आकर्षक सामूहिक नृत्य देख्न सकिन्छ। भिडियोमा दुलाहाहरू समेत नाच्दै गरेको दृश्य समावेश गरिएको छ।
गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतको शब्द तथा संगीत बाबुल गिरीले तयार गरेका हुन्। रवि ओड र गंगा सोनामको स्वर रहेको गीतमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले सामूहिक स्वर दिएका छन्।
रोचक कुरा, निर्माण टिमका अनुसार गीतको भिडियो रिलिज हुनुअघि एक दिन मात्रै यसको छायाङ्कन गरिएको थियो।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारले अभिनय गरेका छन्।
रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको फिल्मको संवाद रोशन भट्टले लेखेका हुन्। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा करण सिंह प्रोडक्सन एक्जिक्युटिभ छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।