निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर मंसिर ४ गतेदेखि दर्शकमाझ आउँदैछन्। अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन तथा निर्माण विषयमा अध्ययन गरेका राजवंशी नेपाल फर्किएपछि फिल्म ‘खुस्मा’मा चिफ असिस्टेन्ट डाइरेक्टर (एडी) का रूपमा काम गरेका थिए। त्यही फिल्मको सुटिङका क्रममा रुकुम पुगेपछि उनलाई ‘हिमालयन गोल्ड’को कथा फेला परेको हो।
नेपाली कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने सोचसहित नेपाल फर्किएका धिरज नयाँ र मौलिक विषयको खोजीमा थिए। ‘खुस्मा’को सुटिङ सकिएपछि स्थानीयसँगको कुराकानीमा उनले रुकुममा उत्कृष्ट यार्सागुम्बा पाइने जानकारी पाए। त्यसपछि घोडा चढेर स्थानीयसँगै यार्सागुम्बा संकलन गर्ने क्षेत्रमा पुगे।
त्यहाँ उनले यार्सागुम्बा टिप्न जाने मानिसमाथि हुने लुटपाट, डोल्पाबाट रुकुम आउने र मनाङसम्म पुग्ने समुदायको गतिविधि तथा तत्कालीन असुरक्षाबारे जानकारी पाए। माओवादी द्वन्द्वसमेत रोल्पा र रुकुमबाट सुरु भएको ऐतिहासिक पृष्ठभूमिबीच सुरक्षा अभावमा हुने लुटपाटका घटनाले उनलाई फिल्मको कथा भेटिएको महसुस गरायो।
‘त्यहाँ पुगेपछि यार्सागुम्बा टिप्ने व्यक्तिमाथि कसरी लुटपाट हुन्थ्यो भन्ने थाहा पाएँ। त्यसपछि यसमा कथा छ भन्ने लाग्यो। यो विषयमा अहिलेसम्म कसैले फिल्म बनाएको छैन भन्ने पनि लाग्यो,’ धिरजले भने।
‘हिमालयन गोल्ड’ले रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने देखाउँछ। फिल्मले सन् १९९० को दशकको समयलाई पृष्ठभूमि बनाएको छ। त्यसबेला यार्सागुम्बा संकलन गर्न जाने स्थानीय सरकारी सुरक्षाको अभावमा लुटपाटको सिकार हुने गरेको निर्देशक बताउँछन्।
फिल्मको कथा तयार पार्न धिरजलाई एक वर्षभन्दा बढी समय लागेको थियो। सुटिङअघि उनी पटकथा तयार पार्न चारपटक मुस्ताङ पुगेका थिए। सुरुमा डोल्पामै सुटिङ गर्ने योजना भए पनि भौगोलिक कठिनाइ, सडक सुविधाको अभाव र उत्पादन खर्चका कारण लोकेसन मुस्ताङ सारिएको उनले बताए।
‘मुस्ताङमा पनि हामीले उच्च हिमाली क्षेत्रमा नै सुटिङ गर्यौं। ४ हजार ८ सय मिटरभन्दा तल सुटिङ नै गरेनौं। लोमान्थाङमा व्यावसायिक रूपमा सुटिङ गरिएको फिल्म सम्भवतः हाम्रो पहिलो हो,’ उनले भने।
फिल्मको मुख्य भूमिकामा परीक्षा लिम्बु छिन्। ‘ऊनको स्वीटर’मा उनको अभिनय देखेपछि धिरज प्रभावित भएका थिए। निर्माण सुरु हुनुभन्दा छ महिना अगाडि नै उनले परीक्षालाई फिल्मको प्रारम्भिक स्क्रिप्ट दिएका थिए। स्क्रिप्ट मन पराएपछि परीक्षा फिल्ममा जोडिएकी हुन्।
फिल्ममा चारजना लुटेराको भूमिका छ। तीमध्ये पहिलो भूमिकामा कर्मा शाक्यलाई छनोट गरिएको थियो। पटकथा लेख्दादेखि नै कर्मालाई उक्त भूमिकामा कल्पना गरेको धिरज बताउँछन्। त्यसपछि ‘पशुपति प्रसाद’मा अभिनय देखेका सजन थापा मगर अडिसनमार्फत छनोट भए। फिल्मको मुख्य खलनायक तथा ग्याङ लिडरको भूमिकामा भने सुनिल थापा जोडिए।
धिरजले एभरेष्ट फिल्म एकेडेमीका चार–पाँच जना विद्यार्थीलाई फिल्ममा इन्टर्नका रूपमा काम गर्ने अवसरसमेत दिएका थिए। फिल्म अध्ययन गरेपछि उद्योगमा प्रवेश गर्ने बाटो नपाउने विद्यार्थीको समस्यालाई ध्यानमा राखेर आफूले यस्तो अवसर दिएको उनको भनाइ छ।
हिमाली क्षेत्रमा सुटिङ गर्नु चुनौतीपूर्ण भए पनि निर्माण टोलीले पूर्वतयारी गरेको थियो। मुक्तिनाथभन्दा माथि र लोमान्थाङमा सुटिङ गर्नुपर्ने भएकाले कलाकार तथा प्राविधिकलाई स्वास्थ्य सावधानी अपनाउन, नियमित वार्मअप गर्न र लसुन साथमा राख्न भनिएको थियो। निर्माण व्यवस्थापकले दैनिक राति सबैको अक्सिजनको स्तर जाँच गर्थे। निर्देशकका अनुसार चिसो भने सबैभन्दा ठूलो चुनौती बन्यो।
‘हिमालयन गोल्ड’लाई धिरजले व्यावसायिक फिल्मकै रूपमा लिएका छन्। तर यसको विधा र कथावाचन नेपाली फिल्ममा देखिँदै आएको शैलीभन्दा फरक रहेको उनको दाबी छ। उनका अनुसार नेपाली फिल्मको ठूलो हिस्सा अझै उस्तै शैली र विषयमा केन्द्रित छ। त्यसैले यार्सागुम्बाको विषयलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको हो।
फिल्मको मुख्य कथामा चारजना लुटेराले यार्सागुम्बा संकलन गर्ने मानिसलाई लुट्दै आएका हुन्छन्। यही क्रममा परीक्षाले निर्वाह गरेको पात्रको परिवारसमेत लुटेराको जालमा फस्छ। त्यसपछि उक्त पात्रले कसरी संघर्ष र प्रतिशोधको बाटो रोज्छ भन्ने फिल्मको मुख्य द्वन्द्व हो।
मुस्ताङको लोमान्थाङभन्दा माथि रहेको टकमारमा पनि फिल्मको सुटिङ गरिएको थियो। त्यहाँ तीन दिन बसेको अनुभव सुनाउँदै धिरजले उक्त क्षेत्रको प्राकृतिक सुन्दरता, स्थानीयको संघर्ष र पर्यटन सम्भावनालाई उजागर गर्न पर्यटन बोर्डले थप पहल गर्नुपर्ने बताए। सुटिङका क्रममा स्थानीय बासिन्दा र निकायबाट पाएको सहयोगप्रति पनि उनले आभार व्यक्त गरे।
‘खुस्मा’को सुटिङका लागि रुकुम नपुगेको भए ‘हिमालयन गोल्ड’को कथा यति गहिराइमा तयार नहुने धिरजको भनाइ छ। फिल्मका केही पात्र वास्तविक जीवनमा भेटेका मानिसबाट प्रेरित छन् भने घटनाहरू स्थानीयबाट सुनेका अनुभवमा आधारित छन्।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, परीक्षा लिम्बु, राहुल एन. मुखिया, सजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी र ऋषिकेश बस्यालको अभिनय छ। दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको यो अन्तिम फिल्म हो।
मीनबहादुर भाम निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर शैलेन्द्र डी. कार्की, सहनिर्माता सुयश ज्ञवाली र कार्यकारी निर्माता राजु राजवंशी हुन्। फिल्मको कथा धिरज राजवंशीको हो भने पटकथा दीपेन्द्र गौचन र धिरज राजवंशीले तयार पारेका छन्। विशष्ठ प्रधानले छायांकन, निमेश श्रेष्ठले सम्पादन तथा सजल लोप्चन र करुण थापाले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन्।
हिमाली पृष्ठभूमिमा बनेको यो सर्भाइभल थ्रिलरले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई मुख्य विषय बनाएको छ। फिल्मलाई भारतको प्रतिष्ठित वितरक एए फिल्म्सले प्रदर्शन गर्नेछ। यसअघि एए फिल्म्सले ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता फिल्म वितरण गरेको थियो। मध्यपूर्वमा फार्स फिल्म्स मोसन पिक्चर्स र नेपालमा एप्पल इन्टरटेनमेन्टले फिल्म वितरण गर्नेछन्।