काठमाडौं । नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ।
निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको फिल्मले विश्वभरबाट सहभागी अन्तर्राष्ट्रिय डकुमेन्ट्रीबीच प्रतिस्पर्धा गर्दै अवार्ड जितेको हो।
शिम्लामा आयोजित अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए। सेप्टेम्बर २५ देखि २७ सम्म शिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा आयोजित महोत्सवमा ३३ देशका फिल्म सहभागी थिए।
गम्भीर मस्तिष्क चोटपछि जीवनमा विभिन्न चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्रालाई ‘द एभरेस्ट ड्रीम’ले प्रस्तुत गरेको छ। स्कटल्याण्डबाट सुरु भएको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रा गर्दासम्मको अनुभवलाई फिल्मले समेटेको छ।
जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्वाइभरसहित सात सदस्यीय टोलीले एभरेस्ट बेस क्याम्पसम्म गरेको यात्रालाई फिल्मले केन्द्रमा राखेको छ। शारीरिक तथा मानसिक चुनौतीका बाबजुद पनि मानिसले आफ्नो सपना पूरा गर्न सक्छ भन्ने प्रेरणादायी सन्देश फिल्मले दिन्छ।
निर्देशक पाण्डेका अनुसार फिल्मको मुख्य सन्देश गम्भीर चोट वा कठिनाइ आए पनि मानिसले नयाँ सपना देख्न र ती सपना पूरा गर्न सक्छ भन्ने हो।
‘द एभरेस्ट ड्रीम’ले यसअघि अमेरिकाको जर्जियास्थित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितिसकेको छ। शिम्लामा प्राप्त नयाँ अन्तर्राष्ट्रिय अवार्डसँगै नेपाली डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय महोत्सवमा थप पहिचान बनाएको छ।