‘हिमालयन गोल्ड’ भारतमा एए फिल्म्सले रिलिज गर्ने

नेपाली फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शनका लागि प्रतिष्ठित भारतीय वितरक एए फिल्म्ससँग सम्झौता भएको छ। यससँगै भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने यो पहिलो नेपाली फिल्म बनेको निर्माणपक्षको दाबी छ।

धिराज राजवंशीको निर्देशनमा बनेको फिल्म आगामी मंसिर ४ गते (नोभेम्बर २०) रिलिज हुँदैछ। फिल्मको भारत प्रदर्शनका लागि मुम्बईमा एए फिल्म्सका संस्थापक तथा भारतीय वितरक अनिल थडानीसँग औपचारिक सम्झौता भएको हो।

एए फिल्म्सले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफः च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’जस्ता चर्चित फिल्म भारतमा वितरण गरिसकेको छ।

सम्झौतापछि एए फिल्म्सका संस्थापक अनिल थडानीले उत्कृष्ट कथावस्तुलाई भाषा र भूगोलको सीमाभन्दा माथि उठाएर भारतीय दर्शकमाझ पुर्‍याउनु आफ्नो कम्पनीको उद्देश्य रहेको बताए।

“‘हिमालयन गोल्ड’ एउटा यस्तो फिल्म हो, जसको उत्कृष्ट कथावस्तु सम्पूर्ण भारतीय दर्शकले अनुभव गर्नुपर्छ। यसको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो,” उनले भने, “दर्शकले भाषाको पर्खाल तोडेर यसलाई माया गर्नेछन् भन्ने हाम्रो विश्वास छ।”

फिल्मको भारत प्रदर्शन सम्झौतालाई निर्देशक धिराज राजवंशीले नेपाली फिल्म उद्योगकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

“यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली फिल्म उद्योगकै लागि कति ठूलो कुरा हो भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ,” राजवंशीले भने, “हिमालयन गोल्डको सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र एए फिल्म्सप्रति साँच्चै आभारी छु।”

उनले पहिलो फिल्ममै यस्तो ठूलो साथ पाउनु आफ्ना लागि विशेष उपलब्धि भएको बताए।

फिल्ममा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य भूमिका छ। यो अभिनेता सुनिल थापाको अन्तिम फिल्म भएको निर्माणपक्षले जनाएको छ।

दशकौँदेखि नेपाली फिल्म क्षेत्रमा योगदान दिएका थापाको अन्तिम प्रस्तुतिलाई नेपालसँगै भारतका दर्शकमाझ पुर्‍याउन पाउनु उनको विरासतप्रतिको सम्मान हुने निर्देशक राजवंशीले बताए।

फिल्मको बहुप्रतीक्षित ट्रेलर आगामी सोमबार सार्वजनिक गरिँदैछ। निर्माणपक्षले नेपाल र भारतका सिनेमा हलमा पुगेर ‘हिमालयन गोल्ड’ हेर्न दर्शकलाई आह्वान गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech