दुबई । चलचित्र बिकास बोर्डले दुबईमा आयोजना गरेको नेपाली सिनेमा फेस्ट-२०२३ मा एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीले नेपाली फिल्म निर्माणमा होमिन लागेको बताएका छन् ।
बोर्डले दुबईमा जारी राखेको कार्यक्रमको तेस्रो दिन नेपाली फिल्मको प्रवर्द्वन र विदेशी बजार बिषयमा अन्तर्कृया भएको थियो । सोही कार्यक्रममा ढुंगाना र अधिकारीले नेपाली फिल्म निर्माणमा प्रबेश गर्न लागेको बताएका हुन ।
उनिहरुले निर्माता तथा बोर्ड सदस्य अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनसँग सहकार्य गर्न लागेको जानकारी दिए । अर्जुन कुमारले कार्यक्रममा संयुक्त सहकार्यमा फिल्म फात्तेको जुत्ता खै निर्माण गर्न लागेको बताए ।
फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ । फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमार कै फिल्म फात्तेको जुत्ता निर्देशन गरेका थिए । त्यसैको सिक्वेलको रुपमा फात्तेको जुत्ता खै निर्माण हुन लागेको हो ।
आकाश बरालको कथामा फिल्म निर्माण हुनेछ भने संगीत प्रबेश मालिकको रहनेछ । बैशाखमा शुटिङ शुरु हुने फिल्मलाई दुबईका वितरक रमेश ढकालले मिडलिस्ट देशमा वितरण जिम्मा लिएका छन् ।
सिनेमा फेस्टमा मंगलवार स्वदेशी फिल्ममा लगानी भित्राउने, दुबईमा फिल्म छायांकन गर्दा सहजिकरण गर्ने, बिदेशमा निरन्तर नेपाली फिल्म रिलिज गर्नेलगायतका बिषयमा बहस कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा दुबईका नेपाली ब्यबसायीहरुले फिल्म निर्माण र ब्यबसायमा रुची देखाएका थिए ।