सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ रिलिज

 दिवंगत अभिनेता सुनील थापाले अभिनय गरेको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। थापाको अन्तिम अभिनय रहेको फिल्म भएकाले पनि यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ।

धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा जनरामा निर्माण भएको हो। फिल्मले हिमाली भूगोलमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा र त्यसको लोभमा जन्मिने द्वन्द्व, संघर्ष तथा मानवीय स्वार्थको कथा प्रस्तुत गर्छ।

सन् १९९० को परिवेशमा आधारित फिल्ममा यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट, असुरक्षा र त्यसले निम्त्याउने घटनालाई पर्दामा उतारिएको छ। परिवार र आफ्नो मेहनतले संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्ष फिल्मको मुख्य कथावस्तु हो। अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत कथामा समेटिएको छ।

प्रदर्शनअघि नै फिल्मले नेपाल र भारतमा फरक उमेर समूहका दर्शकका लागि प्रदर्शन अनुमति पाएको छ। नेपालमा फिल्मले एडल्ट (ए) सर्टिफिकेट पाएको छ भने भारतमा यूए १६ प्लस सर्टिफिकेट प्राप्त गरेको छ।

फिल्ममा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय छ।

समुद्री सतहबाट करिब ४ हजार ८०० मिटरको उचाइमा छायांकन गरिएको फिल्ममा रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनशैली र आर्थिक निर्भरतालाई समेत चित्रण गरिएको छ।

बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजित प्रिमियरमा सहभागी सेलिब्रेटीले फिल्मको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका थिए।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको कथा तथा निर्देशन धीराज राजवंशीको हो। पटकथा दीपेन्द्र गौचन र राजवंशीले लेखेका हुन्। मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन्।

भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले फिल्म वितरण गरेको छ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी लिएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech