‘ककाकिकी’को ट्रेलर युट्युब ट्रेन्डिङमा, प्रस्तुतिको तारिफ

 फिल्म ‘ककाकिकी’को ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको पाँच दिनमै ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ। युट्युबसँगै फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा पनि ट्रेलरले राम्रो चर्चा बटुलिरहेको छ।

ट्रेलरमा आएका सयौं प्रतिक्रियामध्ये अधिकांशले यसको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुको प्रशंसा गरेका छन्। ट्रेलर हेरेपछि फिल्म प्रदर्शनको प्रतीक्षामा रहेको प्रतिक्रिया दर्शकले दिएका छन्।

एक युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘यो एकदमै अनौठो र साँच्चै सिनेम्याटिक देखिन्छ। बिक्की र उनको टिमबाट यस्तै उत्कृष्ट कामको अपेक्षा थियो।’

त्यस्तै, अर्का दर्शकले ट्रेलरको प्रस्तुतिलाई नौलो भन्दै लेखेका छन्, ‘ट्रेलर प्रस्तुत गर्ने तरिका एकदमै नयाँ छ। यस्तो त विदेशी फिल्महरूमा मात्र देखेको थिएँ। फिल्मका लागि निकै उत्साहित छु।’

दर्शकका यस्ता प्रतिक्रियाले ‘ककाकिकी’को ट्रेलरले छुट्टै उत्सुकता सिर्जना गरेको देखिन्छ। विशेषगरी निर्देशक बिक्की अग्रवालले ट्रेलर निर्माणमै फरक शैली र प्रयोग गरेको देखिन्छ। परम्परागत ट्रेलरभन्दा भिन्न प्रस्तुति भएकै कारण यसले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ।

ट्रेलर नेपालको युट्युब मुभिज ट्रेन्डिङ चार्टको तेस्रो स्थानमा समेत पुगेको छ। ट्रेन्डिङको पहिलो स्थानमा बलिउड फिल्म ‘मातृभूमि’को ट्रेलर छ भने दोस्रो स्थानमा नेपाली फिल्म ‘बाटुलो जून’को ट्रेलर रहेको छ।

फिल्म ‘ककाकिकी’मा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।

फिल्मको छायांकन सुदीप बरालले गरेका हुन्। अनिश बुढाथोकी मुख्य सहायक निर्देशक र विशाल राई सहायक निर्देशक छन्। अनिश तामाङ मेकअप, सुमन परियार कस्ट्युम डिजाइन र अरुण रेग्मी प्रोडक्सन हेडका रूपमा रहेका छन्।

फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको छ। ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech