विश्वका अधिकांश देशमा बिक्री भयो ‘छ माया छपक्कै २’को विदेश प्रदर्शन अधिकार

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै २’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री भइरहेको छ। नेपाली फिल्मको बजार रहेका अधिकांश देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको निर्माणपक्षले जनाएको छ।

फिल्मको अष्ट्रेलिया, क्यानडा, युरोप, अमेरिका तथा मध्यपूर्वका विभिन्न देश र यूएईमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ। अमेरिकामा फिल्म अक्टोबर १६बाट प्रदर्शनमा आउनेछ। यूएई, कतार, बहराइन, ओमानलगायतका देशमा पनि सोही मितिबाट फिल्म रिलिज हुने बताइएको छ।

युरोपमा भने फिल्म दशैं र तिहारको अवसरमा रिलिज गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ।

फिल्मको कथावस्तुबारे भने अहिलेसम्म निर्माणपक्षले केही खुलाएको छैन। शीर्ष गीत मात्र सार्वजनिक भएको अवस्थामा फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री हुनुलाई निर्माणपक्षले सकारात्मक उपलब्धिका रूपमा लिएको छ।

नेपालमा भने फिल्म असोज ३१ गतेबाट प्रदर्शनमा आउँदैछ। दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिषा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य, रिहान गिरी, निर्मल शर्मालगायतका कलाकारको अभिनय छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech