अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म **‘बाटुलो जून’**को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। शुक्रबार सार्वजनिक भएको टिजर तीन दिनमै युट्युबको फिल्म विधाअन्तर्गत नेपालमा पहिलो नम्बरमा पुगेको हो।
निर्माणपक्षका अनुसार नेपालसहित एक दर्जनभन्दा बढी देशमा समेत टिजर ट्रेन्डिङमा छ। सोमबार दिउँसोसम्म टिजरलाई युट्युबमा ६ लाख ५० हजारभन्दा बढीपटक हेरिएको छ।
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ले पुरानो समयको प्रेमकथा प्रस्तुत गर्छ। तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई फिल्मको कथाको केन्द्रमा राखिएको निर्माणपक्षले जनाएको छ।
फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडाको जोडीलाई प्रस्तुत गरिएको छ। प्रिन्सीको यो डेब्यु फिल्मसमेत हो।
टिजर सार्वजनिक भएपछि अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयको प्रशंसा भइरहेको छ। डेब्यु अभिनेत्री प्रिन्सीको उपस्थितिलाई पनि दर्शकले रुचाएको देखिन्छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा राजेश श्रेष्ठको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह–निर्माता छन्।
‘बाटुलो जून’ अनमोलको फिल्म ‘जेरी अनटप’ रिलिज भएको करिब एक वर्षपछि प्रदर्शनमा आउन लागेको हो।